एसईई, विश्वविद्यालय र सीटीईभीटीका सबै परीक्षा स्थगित, कक्षा ११ र १२ को पनि सर्ने


 ईश्वरराज ढकाल, काठमाडौं । 

आजबाट शुरू हुने भनिएको एसईई परीक्षा स्थगित भएको छ। यसँगै सीटीईभीटी र त्रिभुवन विश्वविद्यालयसमेत परीक्षा स्थगित गर्ने निर्णयमा पुगेका छन्।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले बुधबार दिउँसो गरेको निर्णयलाई प्रस्ट्याएर राति करिब साढे ९ बजे नयाँ निर्णय गरेको हो।

यसअघि समितिले जारी गरेको १५ बुँदे निर्णयमा एसईई परीक्षा सुरक्षित एवं व्यवस्थितरूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँचसहितको हेल्थडेस्क स्थापना गर्ने बताएको थियो।

दिउँसो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले सरकारलाई एसईई रोक्न अनुरोध गर्ने निर्णय गरेको थियो। त्यसपछि समितिका संयोजक मन्त्री पोखरेलले परीक्षा स्थगित हुने जानकारी गराउनुभएको थियो।

समितिको बैठकमा परीक्षा स्थगित गर्ने विषयमा कुनै जानकारी नगराइएको परीक्षा स्थगित भएकोमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आश्चर्य व्यक्त गर्नुभएको स्रोतले जनाएको छ।

 नयाँ तालिकाबारे अनिश्चित
 सिनेमाहल, डान्सबार, मन्दिर, रंगशाला, हेल्थक्लब बन्द
 २५ जनाभन्दा बढी बस्न नमिल्ने
 ५५ मुलुकमा हवाई प्रतिबन्ध
 नयाँ वर्षको कार्यक्रम पूर्ण प्रभावित

परीक्षा स्थगित भएको विषयमा मन्त्रीसँग शिक्षाका उच्च अधिकारीले टेलिफोन गर्दा आफूलाई जानकारी नै नभई परीक्षा स्थगित भएको बताउनुभएको थियो।
शिक्षामन्त्री पोखरेलले परीक्षा स्थगित भएको जानकारी विभिन्न सञ्चारमाध्यममा समाचार हेरेर र हल्ला भएपछि मात्रै जानकारी पाउनुभएको थियो।स्रोतका अनुसार परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले मन्त्री पोखरेललाई परीक्षा स्थगित भएको विषयमा जानकारी लिन खोज्दा आफूलाई थाहा नभएको बताउनुभएको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले परीक्षा स्थगित भएको जानकारी दिएपछि मन्त्रालय र अन्य निकायलाई थाहा भएको थियो। परीक्षा स्थगित भएपछि बोर्डलाई लाखौं रुपियाँ घाटा लागेको छ। अब परीक्षा कहिले हुन्छ भन्ने विषयमा सरकार आफैं अनविज्ञ छ।

बुधबार राति बसेको बोर्डको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो। बोर्डका अध्यक्ष प्राडा पौडेलले परीक्षा स्थगित भएको जानकारी गराउँदै नयाँ तालिका घोषणा गर्ने विषयका तत्काल निर्णय नगर्ने बताउनुभयो।

यस्तै सरकारी सामुदायिक निजी क्षेत्रको तालिम केन्द्रहरू तथा प्रतिष्ठान एवं निजी शैक्षिक परामर्शकेन्द्रबाट सञ्चालित कार्यक्रमहरूसमेत बन्द गरेको छ।

यस्तैगरी अन्तर्राष्ट्रिय गैरसरकारी र गैरसरकारी क्षेत्रबाट सञ्चालन हुने सबै कार्यक्रम चैत मसान्तसम्मका लागि स्थगित गरेको छ। निर्णयमा कक्षा ११ र १२ को परीक्षाको विषयमा केही बोलेको छैन।

उच्चस्तरीय समितिको बैठकले विद्यालयदेखि सबै विश्वविद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उक्त निर्णयअनुसार बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द हुनेछ।

सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन र हिँड्डुल नगर्न आह्वान गरेको छ। विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालमा पर्नसक्ने आंकलन गर्दै सरकारले यस्तो निर्णय गरेको हो।

उपप्रधान तथा रक्षामन्त्री संयोजक रहनुभएको उच्चस्तरीय समन्वय समितिको बैठकले सांस्कृतिक केन्द्र, रंगशाला , खेलस्थल, जिमखाना , हेल्थक्लब, म्युजियम, स्विमिङपुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

समितिले आजदेखि लागू हुनेगरी बन्द गर्ने निर्णय गरेको हो। सो निर्णय २०७७ साल वैशाख १८ सम्म कायम गरिएको छ। यो निर्णयसंगै नेपालीले नयाँ वर्षमा आयोजना गरिने सबै कार्यक्रममा लगभग प्रतिबन्ध लागेको छ।

बैठकले पार्टी प्यालेस, मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन बन्द गर्ने निर्णय गरेको छ। निर्णय कार्यान्वयन गर्ने अधिकार गृह, सांस्कृतिक पर्यटन तथा नागरिक उड््यन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिएको छ।

विद्यालय शिक्षाको हकमा संघीय मामिला तथा स्थानीय मन्त्रालयमार्फत स्थानीय निकायलाई अधिकार दिएको छ। सरकारको यो निर्णयसंगै नेपालमा कोरोना संक्रमण हुने अवस्था उच्च देखिएको छ।

सरकारले निर्णय कार्यान्वयन गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ। सार्वजनिक यातायातमा पनि सिट क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेको छ।

यस्तै भीडभाड गरी यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न नगराउन यातायात धनीलाई अनुरोध गर्ने निर्णय गरेको छ। सोको अनुगमन प्रहरीले गर्नेछ।

समितिको बैठकले मानिसहरूको जमघट हुने स्थानीय निकाय, मालपोत कार्यालयलगायत सार्वजनिक महत्वका स्थलहरूमा स्थानीय तहहरूले दैनिक रुपमा सरसफाइ र डिसइन्फेक्सन गर्नुपर्ने निर्णय गरेको छ।

यस्तै होटल, रेस्टुरेन्ट तथा सपिङमलका सञ्चालकलाई सेनिटाइजरलगायत सफाइका सामाग्रीहरू प्रबन्ध मिलाउने निर्णय गरेको छ। टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न पनि निर्देशन गरेको छ।

ती स्थानमा तापक्रम मापन गर्ने उपकरण तथा सामग्रीको व्यवस्था गरी प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने निर्णय गरेको छ। चीनको वुहानबाट फैलिएको कोरोना विश्वका १ सय ६३ देशमा फैलिएको र भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो।

पोखरेलसहित स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापालगायत उच्च सरकारी अधिकारीको उपस्थिति रहेको थियो। बैठकले युरोपका सबै मुलुक, पश्चिम एसियालगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउन रोक लगाएको हो। यो प्रतिबन्ध भोलि रातिदेखि १५ अप्रिलसम्म कायम रहनेछ।

कक्षा ११ र १२ को पनि सर्ने ?

राष्ट्रिय परीक्षा बोर्डले वैशाख ८ देखि कक्षा १२ र २१ देखि कक्षा ११ को परीक्षा सर्ने भएको छ। एसइई परीक्षा स्थगित भएपछि कक्षा १२ र ११ को परीक्षा सञ्चालन गर्न समेत समस्या पर्नेछ। तत्काल बोर्डले कुनै निर्णय नगरे पनि परीक्षा सर्ने प्रायः निश्चित भएको स्रोतको भनाइ छ। ‘अब एसइई परीक्षा सकेपछि मात्रै १२ र ११ को परीक्षा सञ्चालन हुने सम्भावना छ ।’ –स्रोतले नेपाल समाचारपत्रसंग भन्यो। बोर्डले परीक्षाको सम्पूर्ण तयारी पुरा गरिसकेको छ।

एसएलसी स्थगित कहिले–कहिले ?

एसएलसीका इतिहास लेखक प्रकृति अधिकारीको पुस्तकमा उल्लेख भएअनुसार एसएलसी शुरूदेखि अहिले (एसईई हुँदा) पटक–पटक उक्त परीक्षा स्थगित हुँदै आएको छ।

 सरकारले पहिलोपटक परीक्षा सञ्चालन गर्ने तयारी गर्दा १९९० सालको भूकम्पका कारण स्थगित

 २००३ सालमा विराटनगरको विद्यार्थीलाई वीरगन्जमा केन्द्र कायम गरेकाले, त्यस बेला पुस १७ गते तोकिएको परीक्षा २४ गते सञ्चालन भएको थियो।

 २००५ सालमा प्रधानमन्त्री मोहन शमशेरको जन्मदिन परेकाले

 २०२५ सालमा प्रश्नपत्र बाहिरिएपछि परीक्षा नियन्त्रण कार्यालयमा आगजनी भएकाले

 शैक्षिक सत्र परिवर्तन भएकाले २०५४ सालको परीक्षा स्थगित भएर २०५५ सालमा २०५४ र २०५५ सालको परीक्षा एकैपटक लिइएको थियो। दुवै परीक्षा त्यसपछि जनयुद्धताका केही जिल्लामा परीक्षा स्थगित भएको थियो।