‘नागरिक बजार अनुगमनकर्ता बन्नुहोस्’


काठमाडौं, (नेस)

कोरोना भाइरसको बढ्दो सन्त्रासका कारण व्यापारीवर्गले गर्न सक्ने कालाबजारीलाई नियन्त्रण गर्न हरेक नागरिक बजार अनुगमनकर्ताको भूमिकामा उभिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आह्वान गर्नुभएको छ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मंगलबार आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टले भन्नुभयो– ‘खाद्यान्न, औषधी, एलपी ग्यास आपूर्तिमा कुनै तलमाथि भएको छैन। आवागमनका लागि नाकाहरुमा कडाई गरिए तापनि अत्यावस्यक वस्तुहरु निर्वाध रुपमा आयात गर्न दिइएको छ।

तर पनि कतिपय व्यापारीहरुले अधिक मूल्य लिने, कृतिमा अभाव सृजना गर्ने गरेका छन्। गृहमन्त्रालयसंग हातेमालो गरेर अनि एक्लै पनि बजार अनुगमन गरिरहेका छांै। तर हामीसंग जनशक्तिको सीमा छ।

यसैले यस्तो बखतमा तपाईं सबै बजार अनुगमनकर्ता बन्नुपर्छ। बढी मूल्य लियो भने फोटो खिचेर वा भिडियो बनाएर पठाउनुस् वा हटलाईनमा खबर गर्नुस्। हामी सबै एकजुट भयौं भने कालाबजारीलाई निस्तेज पार्न सक्छौं।’

मन्त्रालयले हिजो मात्र बजारमा अनुगमन गरेको बताउँदै आफू अहिले चौबिसै घण्टा डिउटीमा रहेकाले आम नागरिकलाई पनि यस्तो बखतमा विशेष सचेत हुन उहाँले आग्रह गर्नुभयो।

कालाबजारी गरिएको थाहा पाउनसाथ उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको हटलाईन ११३७ वा नेपाल प्रहरीको लाईनको हटलाईन १०० मा सूचना दिन उहाँले सबैलाई सुझाउनुभएको छ।

संकटका बखतमा नागरिकले एकातिर सामान सञ्चय गर्न चाहने र अर्कोतिर व्यापारीहरुले बेमुनासिब नाफाको इच्छा राख्ने प्रबृत्ति हामीकहाँ रहेको बताउँदै बजारमा एकखाले मनोवैज्ञानिक त्रास भने रहेको उहाँले स्वीकार गर्नुभयो।

सम्भाव्य जोखिमसंग जुध्न उपप्रधानमन्त्री इश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र बनेको र उक्त संयन्त्रले सम्भाव्य जोखिमको आवश्यक तयारी गरिरहेकाले यस्तो बखतमा नअतालित बरु संकटसंग जुध्न तयार भएर बस्न आम नागरिकलाई उहाँले आग्रह गर्नुभएको छ।