नेकपा बैठकको एजेन्डा ‘कोरोना’


काठमाडौं, (नेस)

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज बुधबारका लागि सचिवालय बैठक बोलाएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापी बनिरहेका बेला सो पार्टीले सचिवालयको बैठक बोलाएको हो।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सफलरूपमा मिर्गाैला प्रत्यारोपण गरेर निवास फर्किएपछि बैठक बस्न लागेको छ। पार्टीले सचिवालयको बैठक बोलाएको महासचिव विष्णु पौडेलले नेपाल समाचारपत्रलाई बताउनुभयो। तीन सातादेखि सचिवालयको बैठक बस्न सकेको छैन।

पार्टीका उपाध्यक्ष वामेदव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय विवादमा परेपछि बैठक नै प्रभावित हुँदै आएको थियो।

सचिवालयले गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन। प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्नुपर्ने भए पनि मिर्गौलाको प्रत्यारोपण गर्न अस्पताल भर्ना भएसँगै प्रभावित भएको थियो।

सचिवालयका अधिकांश सदस्यले सचिवालय बैठकले गरेको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्नुपर्ने दबाब दिँदै आएका छन्। तर प्रधानमन्त्री ओलीले पनि उक्त निर्णय कार्यान्वयन गर्न बेवास्ता गर्दै आउनुभएको छ।

मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग दुईपटक छलफल गर्नुभएको छ।

प्रचण्डसँगै उहाँले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ। १२ दिन अस्पताल बसेर निवास फर्किनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्र देखिएको विवाद समाधान गर्न शीर्ष नेताहरूसँगको छलफल अगाडि बढाउनुभएको हो।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको थियो।

वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा पनि कोरोना भाइरस, प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना र पार्टीले यसअघि गरेको निर्णय कार्यान्वयन गराउने विषयमा छलफल हुने जानकारी दिनुभयो।