विश्व स्वास्थ्य संगठन भन्छ – परीक्षण ! परीक्षण !! परीक्षण !!!

0
Shares

भगवती तिमल्सिना,काठमाडौ।

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई विश्वव्यापी महामारी घोषणा गरिसकेको अवस्थामा सबै मुलुकलाई संक्रमणको आशंका भएका सबै व्यक्तिको स्वास्थ्य परीक्षणमा जोड दिन सबै राष्ट्रलाई आव्हान गरेकोछ । सोमबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेन्डोर्स अधानोमले भन्नुभयो-‘सबै देशहरुलाई हाम्रो सन्देश छ, परीक्षण, परीक्षण, परीक्षण ।

प्रत्येक शंकास्पद केशलाई परीक्षण गर्नुहोस् । यदि त्यो परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखियो भने त्यो व्यक्ति पछिल्लो दुई दिनमा को कोसंग सम्पर्कमा पुगेका छन् त्यसको पनि खोजी गर्नुहोस् । यदि उनीहरुमा पनि लक्षण देखिएको छ भने परीक्षण गराउनुहोस् ।यो ज्यादै खतरनाक रोग हो । यो रोग ६० बर्ष माथिका व्यक्तिमा बढी खतरनाक भएको देखाएको छ । यद्धपी युवा र बालबालिका पनि यसका शिकार भइसकेका छन् ।

त्यसकारण विश्व स्वास्थ्य संगठनले नयाँ क्लिनिकल गाइडलाइन जारी गरेको छ, जसमा कसरी बालबालिका, बृद्ध बृद्धा र गर्भवती महिला यो रोगबाट जोगाउन सकिन्छ भन्ने कुरा उल्लेख छ ।
अहिले हामीले विकसित देशहरुमा यसको बढी महामारी भएको देखेका छौँ । उनीहरु माहामारी विरुद्ध संघर्ष गरिरहेका छन् । तर यदि यो भाइरस कम आय भएका देशमा पुग्यो भने त्यसपछिको अवस्था के होला भन्ने बारेमा हामी अझ बढी चिन्तित छौँ । त्यसैले संक्रमण रोक्न हामी सबै एकजुट हौँ ।

प्रभावकारी रुपमा यसको रोकथाम तथा नियन्त्रणमा काम गरौँ ।’विश्व स्वास्थ्य संगठनको क्षेत्रिय कार्यालय नयाँ दिल्लीले पनि सोमबारै सार्क मुलुकहरुलाई कोरोना भाईरसको बारेमा जानकारी गराउनुका साथै विशेष सतर्कता अपनाउन निर्देशन दिएको छ । विश्व स्वास्थ्य संगठनका क्षेत्रिय निर्देश डा.पुनम छत्रपाल सिंहले दक्षीण पूर्वी एशिया सार्क सदस्य राष्ट्रहरुलाई सार्कका हाल सम्म ४८० जना संक्रमित भएका र ८ जनाको मृत्यू भैसकेको जानकारी गराउनुभएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

डा.पुनमले जारी गरेको विज्ञप्तीमा भनिएको छ -दक्षिण पूर्वी एशियाका ११ मुलुकमा हाल सम्म ८ जनाको कोरोना भाईरस कोभिडका कारण मृत्यु भैसकेको छ र यो छिटो छिटो फैलने र मानिसको नियन्त्रण भन्दा बाहिर जाने रोग भएकाले सबै राष्ट एक भै सतर्कता अपनाउन आवहान गर्दछु ।अहिले सम्म कोरोनाबाट संक्रमितहरुमा थाईल्याण्डमा १ सय ७७, इण्डोनेशिया १ सय ३४, भारत १ सय २५, श्रीलंका १९, माल्दिप्स १३, बंगलादेश ५, नेपाल र भुटानमा एक एक जना प्रभाणित छन् ।

यो भाईरसबाट जोखिनका लागि साबुन पानीले हात पटक पटक धुने, भीडभाडमा नजाने, लामो यात्रा भीडमा नगर्ने, स्वस्थ खाना र सरसफाईमा ध्यान दिने र कोरोनाको लक्षण देखिएमा तत्काल परिक्षण गराउने लगायतका बिषयमा डा.छत्रपालले अपिल गर्नुभएको छ ।