‘साथीहरुलाई जोगाउँदा गोली खाएँ’

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे । 

टिपरको ठक्करबाट आमा छोरी दुबैको ज्यान गए पछि पनौती नगरपालिकामा स्थानीयहरुले शुरु गरेको आन्दोलनमा प्रहरीले सोमबार राति चलाएको गोलीका कारण प्रहरी नै घाईते भएका छन् । आन्दोलनकारीहरुले लगातार ढुंगा, सिसीका बोतल प्रहार गरी घाईते बनाएपछि प्रतिरक्षाका लागि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको थियो ।

घटनामा प्रहरी तर्फ ६ जना घाईते भए भने सर्वसाधारण तीन जना गम्भिर भए । गम्भिर मध्येका प्रहरी हवल्दार दिलिप बुढाथोकीको पातोमा लागेको छर्राले उहाँ ढल्नु भयो । प्रहरी गुल्म पनौतीमा कार्यरत बुढाथोकी दोलखा घर भई १८ वर्ष देखि प्रहरी सेवामा कार्यरत हुनुहुन्छ । ‘निरन्तर आन्दोलनकारीले सिसीका बोतल र ढुंगामुढा प्रहार गरिरहे मैले बचाईरहें तर आन्दोलनकारीको तर्फबाट पौने ८ बजे प्रहार भएको आएको गोलीले म ढलें’–हवल्दार बुढाथोकीले भन्नुभयो–‘उठाउने कोहि भएन, घिस्रिँदै बसपार्कको भित्तामा रहेको मन्दिर नजिकै पुगें, हातले गोलीको छर्राको प्वाल थुनें हात नै भित्र पस्यो । म आतिँए । बाटोमा हिडिरहेका मान्छेको टोपी मागेर प्वाल टाँलें । केहि क्षण पछि मात्रै मलाई अस्पताल लैजान सम्भव भएछ ।’

बुढाथोकीको शरिरमा लागेका २६ वटा टुक्रा सोमबार राति नै निकालिएको छ भने केहि अझै बाँकी छ । उनीसँगै शिर मेमोरियल अस्पताल बनेपामा ईन्द्रेश्वर मावीको कक्षा १२ मा अध्यनरत १९ बर्षिय जिवराज तामाङ उपचारार्थ छन् । उनको दाहिने खुट्टामा प्वाल परेको छ ।

घाईते मध्ये हर्कबहादुर तामाङ र चितवन घर भई पनौतीमा बस्दै आएका साजन चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल पठाईएको छ । प्रहरीका सई विरेन्द्रप्रसाद शाह, हवल्दार मिनबहादुर थापा र जवान लालबहादुर थापा मगर उपचार पछि रिहाई भएका छन् । आन्दोलनकारीहरुले मध्यरातसम्म प्रर्दशन गरेका थिए । प्रशासनले स्थिती नियन्त्रण बाहिर जान थालेपछि मंगलबार विहान ९ बजे देखि अनिश्चितकालिन कफ्र्यु जारी गरेको थियो ।

पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका भोलोनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । छोरीलाई टिपरले ठक्कर दिए पछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भए पछि जचा“उनको लागि बुबासँगै पनौती आएकी थिइन् । बुबा घर बनाउने सामान लिन र उनी जचाँउन आउँने क्रममा विदेशमा रहेका श्रीमान क्षिरिङ्ग भोलोनले पठाएको १ लाख १८ हजार रुपैया बैकबाछ निकालेकी थिईन् । दुर्घटना पश्चात उनको साथमा रहेको उक्त रकम पनि फेला परेको छैन ।

पनौती क्षेत्र हुँदै दैनीक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनीक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् । पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । पीडितका आफन्त र प्रशासन बीच चालकलाई कानुन अनुसार कडा कारवाही गर्ने सहमति पश्चात शव बुझ्ने विषयमा छलफल भएको थियो । मृतकका जुनिमाया गोलेका देवर पेशल भोेलोनले ईलाका प्रहरी कार्यालय बनेपामा किटानी जाहेरी दिएका छन् ।