गण्डकी प्रदेशको मुख्य प्रवेशद्वारमा हेल्थ डेस्क स्थापना

0
Shares

अमृत अर्याल, स्याङ्जा ।

कोरोना भाइरसको सचेतना सँगै सतर्कता अपनाउने क्रममा गण्डकी प्रदेश छिर्ने मुख्य नाकामा हेल्थ डेक्स स्थापना गरिएको हो । गण्डकी प्रदेश र प्रदेश नम्वर ५ को सिमाना राम्दीमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

स्याङ्जाको गल्याङ नगरपालिकाले दुई प्रदेशको सिमाना रहेको राम्दीमा हेल्थ डेक्स राखेर गण्डकी प्रदेश छिर्ने सबै यात्रुलाई चेकजाँच पछि मात्रै आउने र जाने व्यवस्था गराएको छ । भारत सहित पाँच नम्बर प्रदेशबाट भित्रिने यात्रुहरुको स्वास्थ्य परिक्षण गर्नका लागी हेल्थ डेस्क स्थापना गरिएको गल्याङ नगर प्रमुख भुपराज अधिकारीले बताउनुभयो । अहिलेसम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको भएतापनि सचेतना भने अपनाउने अवस्था आएकाले यो हेल्थ डेक्स स्थापना गरिएको अधिकारीको भनाई छ ।

पर्यटकीय शहर पोखरा र मुक्तिनाथको दर्शन गर्न भारतीय नागरिक सहित प्रदेश ५ बाट आउने यात्रु प्रवेश गर्ने मुख्यद्धार राम्दी हो नगर प्रमुख अधिकारीले भन्नुभयो,“ कोरोनाको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउन जरुरी छ ।” कोरोना संक्रमणको अन्त्य नभएसम्म हेल्थ डेस्क यथावत रहने उहँले बताउनुभयो । सिद्धार्थ राजमार्गको बाटो हुदै स्याङ्जा प्रवेश गर्ने सबै यात्रुको चेकजाँच पछि मात्रै जिल्ला छिर्न पाइने व्यवस्था सहित नगरपालिकाले हेल्थडेक्स राखेको छ । यात्रुको चेकजाँच पछि शंकास्पद भएमा पोखरामा रहेको आईसोलेसनमा पठाईने नगर स्वास्थ्य शाखा प्रमुख लिला भण्डारीले बताउनुभयो । दुई स्वास्थ्यकर्मी र एक जना सुरक्षाकर्मी हेल्थडेक्सका लागि खटाइएको नगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमणबाट साबधानी अपनाउन गल्याङ नगरपालिकाले विशेष कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ । नगरबासीहरुलाई धेरै नआत्तिन र सचेत रहन आग्रह गर्दै नगरपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नगर प्रमुख अधिकारीले बताउनुभयो । गल्याङ नगरपालिकामा पनि मास्कको अभाव भएको बताइएको छ । मास्कको कालोबजारी भएको वा नभएको बिषयमा छिट्टै अनुगमन थाल्ने नगरपालिकाले जनाएको छ । स्याङ्जामा अहिले सम्म मौसमी फ्लु देखिएपनि कोरोना संक्रमणको शंका भने नरहेको बताइएको छ । संक्रमण नदेखिएपनि सावधानी र सचेतना अपनाउन जिल्ला प्रशासन कार्यालयले सबै स्थानीय तहमा निर्देशन समेत दिएको छ ।

कस्तो छ स्वास्थ्य

गल्याङ नगरपालिकाका नगर प्रमुख भुपराज अधिकारीको स्वास्थ्य परिक्षण गर्दै स्वास्थ्यकर्मी । नगरपालिकाले स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा हेल्थडेक्स राखेर राजमार्गमा यात्रा गर्ने यात्रुको चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।