हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण विधेयक स्वीकृत


काठमाडौं, (नेस)

 

‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ राष्ट्रिय सभामा स्वीकृत भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले यी विधेयक स्वीकृत गरेको हो।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तुत गर्नुभएको दुवै विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको हो। विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले देशभित्रकै लामो अनुभवका आधारमा छुट्टाछुट्टै कानुनको आवश्यकता महशुस गरी दुई विधेयक ल्याइएको बताउनुभयो।

 

उहाँले भन्नुभयो–‘हवाई सेवा र नागरिक उड्डयन प्राधिकरण नियमनकारी र सेवा प्रदायक काम गर्ने अलग–अलग संस्था हुन्, त्यसैले एकै ठाउँमा राख्दा चाहना बाझिने र घटना घट्दा अधिकार र दायित्वको विषयमा अलमल हुँदा विधेयक ल्याउनुपरेको हो।’