राहत प्याकेजको माग


काठमाडौं, (नेस)

पर्यटन, उद्योग तथा होटल व्यवसायीले कोरोनाका कारण व्यवसाय धरासयी बन्दै गइरहेको भन्दै राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका छन्।

 

पर्यटन र हवाई उद्योगमा कोरोनाले पारेको प्रभाव र सरकारले अवलम्बन गर्नुपर्ने उपायका सम्बन्धमा प्रभाव न्यूनीकरणसम्बन्धी रक्षा मन्त्रालयमा सोमबार पर्यटन व्यवसायी, हवाई उद्योग व्यवसायीसँग भएको छलफलमा व्यवसायीहरूले राहत प्याकेज घोषणा गर्न माग गरेका हुन्।

 

छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जयराज रेग्मीले कोरोनाका कारण पर्यटन क्षेत्रमा सबैभन्दा बढी असर परेकाले राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयो। उहाँले पर्यटन व्यवसायीले तिर्नुपर्ने करमा ५० प्रतिशत छुटको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले अहिले बढी असर हवाई क्षेत्रमा परेको बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतीचन्द ठाकुरले पर्यटक नआएकाले यातायातसमेत ठप्प भएकाले बैंकको ऋण तिर्न समस्या भएको बताउनुभयो।

 

नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले हवाई क्षेत्रमा राहत प्याकेज सरकारले घोषणा गर्नुपर्ने माग राख्नुभयो।
नेपाल वायुसेवा निगमका निर्देशक टंकनिधि दाहालले ६०–७० प्रतिशत हवाई उडान घटेको र ६५ बाट २५ वटा मात्र दैनिक उडान हुने गरेको बताउनुभयो।

 

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुम सुवेदीले कोरोनाका कारण आफूहरुले करोडौंको नोक्सान व्यहोरिएको बताउँदै सरकारले सहुलियत दिनुपर्ने माग गर्नुभयो। उहाँले ८० प्रतिशत व्यवसाय भाडाका घरमा सञ्चालन भएकाले घर भाडा र बैंकको ऋणमा सहुलियत गर्नुपर्ने माग राख्नुभयो।