मध्यरातमा स्काभेटर र जेसीभीमा आगजनी


म्याग्दी, (नेस)

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ तोलाबाङमा गएराति स्काभेटर र जेसीभी मेसिनमा अज्ञात समूहले आगजनी गरेको छ। क्याराबान कन्स्ट्रक्सनको बा२क ७४४ नम्बरको जेसीभी र बा२क ९२१० (पीसी–२१०) को स्काभेटर मेसिन आगजनीबाट पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

 

मध्यरातमा मेसिनमा आगो लागेको सूचना प्राप्त भएलगत्तै पुगेको प्रहरीको टोलीले करिब १ घण्टाको प्रयासमा आगो निभाएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो। आगजनी गर्नेहरूको खोजीकार्य शुरु गरिए पनि कसले आगो लगाएको भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ।

 

बेनी–दरबाङ सडकखण्डको मंगला गाउँपालिका–२ लाम्पाटादेखि मालिका गाउँपालिका–६ दरबाङ जोड्ने सडक स्तरोन्नतिका लागि दुवै मेसिन परिचालन गरिएको थियो। स्काभेटर र जेसीभीमा आगोलागी हुँदा डेढ करोड रुपियाँबराबरको क्षति भएको जनाइएको छ।