चीनबाट फर्किएका विद्यार्थीमाथि शंका


खोटाङ, (नेस)

 

चीनबाट फर्किएका एक विद्यार्थी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएको हल्लाले जिल्लावासी त्रसित भएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा केही दिनअघिदेखि नै उक्त हल्ला फैलिएको हो।

 

हल्ला फैलिएपछि जिल्ला प्रशासन कार्यालय दिक्तेलमा आइतबार सर्वदलीय भेलासमेत डाकिएको थियो। तर, बिरामी भनिएका २१ वर्षीय शरणकुमार राईले भने आफू स्वस्थ रहेको प्रतिक्रिया दिनुभएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो।

 

शरणकुमार गत फागुन–१४ गते चीनबाट नेपाल फर्कनुभएको थियो। धरानस्थित ह्वाइट हाउस क्याम्पसमा होटल व्यवस्थापन अध्ययन गर्नुभएका शरणकुमार ६ महिनाअघि प्राक्टिकल (व्यावहारिक शिक्षा) का लागि चीन जानुभएको थियो।

 

चीनको सान्यासिटीमा बसेर अध्ययन गर्दै आउनुभएका शरणकुमार एक वर्षका लागि त्यहाँ जानुभएको थियो। चीनबाट नेपाल फर्कनुअघि सोही ठाउँमा र नेपाल फर्किएलगत्तै विमानस्थलमा चेकजाँच गर्दा कुनै समस्या नदेखिएपछि आफू घर आएको शरणकुमारले बताउनुभयो।

 

हल्लाबाट परिवारमा ठूलो तनाव सिर्जना गरेको शरणकुमारको भनाइ छ। जिल्लाकै विभिन्न स्वास्थ्य चौकीमा काम गर्दै आएका शरणकुमारका तीन दिदीबहिनीले पनि भाइलाई हालसम्म कुनै समस्या नरहेको भन्दै गाउँलेले नचाहिँदो हल्ला फैलाएको दाबी गरेका छन्।

 

उनीहरूले आफ्नो परिवारमाथि नचाहिँदो हल्ला फैलाउने व्यक्ति पहिचान गरेर कारबाहीको दायरामा ल्याउन मागसमेत गरेका छन्। पाथेकामा चीनबाट फर्किएका शरणकुमारलाई आफन्तले घरको तलामाथि लुकाएर राखेको हल्ला छ।