बजार अनुगमनलाई तीव्र पार्दै महानगरपालिका


ललितपुर, (नेस)।

 

ललितपुर महानगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। समय–समयमा छड्के अनुगमन गर्दै आएको महानगरले बजारमा कालोबजारी र कृत्रिम अभाव बढेको गुनासो आएपछि अनुगमनलाई तीव्र पारेको हो।

 

महानगरले आइतबार जावलाखेलस्थित सेलवेज डिपार्टमेन्ट स्टोर, झम्सीखेल र बुखुन्डोलमा रहेको बिगमार्ट र हरिहरभवनस्थित आरके स्टोरमा पनि अनुगमन गरेको छ। अनुगमनका क्रममा यी स्टोरमा खाद्य सामग्री पर्याप्त भएको पाइएको छ। मूल्यसूची उल्लेख भएको, तौल पूरा भएका सामग्री स्टोरमा रहेका छन्।

 

महानगरका उपप्रमुख गीता सत्यालको नेतृत्वमा रहेका टोलीमा सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझा, राष्ट्रिय उपभोक्ता संघ ललितपुरका अध्यक्ष ध्रुवलाल तन्डुकार, कोमलप्रसाद प्याकुरेल र सावित्रीदेवी पण्डित र नेपाल प्रहरीका प्रतिनिधि थिए।

 

महानगरका उपप्रमुख गीता सत्यालले महानगरले छड्के अनुगमन गरिरहेको बताउँदै कृत्रिम अभावको गुनासो आएपछि यसलाई तीव्र पारिएको बताउनुभयो। अनुगमनका क्रममा गुणस्तर नभएका सामग्री भेटेमा बिक्रेतालाई कारबाही गर्ने बताउनुभयो।

 

सामान्य प्रशासन महाशाखा प्रमुख श्रीभद्र ओझाले महानगरले यसअघि पनि छड्के अनुगमन गरेको बताउँदै खाद्य पदार्थलगायतको कृत्रिम अभावको गुनासो आएपछि अनुगमनलाई तीव्र पारिएको बताउनुभयो।