भिडियो सम्मेलनमा प्रधानमन्त्रीको उपस्थिति र विचारको उच्च मूल्यांकन


आइतबार दक्षिणपूर्वी एसियाली ८ मुलुकले कोरोना भाइरसविरुद्ध लड्नका लागि एकताको सूत्र अपनाएर निकै महत्त्वपूर्ण निर्णय लिएका छन्। यो निर्णयले आम जनमानसमा फैलिएको त्रासलाई कमी गर्न र रोग लागिहाले उपचार कसरी गर्ने र नयाँ औषधि, खोपको विस्तार भएमा कसरी एक मुलुकबाट अर्को मुलुकको जनताले सेवा लिने भन्नेबारेमा समेत स्पष्ट पारिएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावलाई नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल स्वागत गर्नुभएको थियो। आफ्नो स्वास्थ्यको विशेष अवस्थामा समेत देश र जनताको स्वास्थ्यका लागि ठोस निर्णयमा पुग्नका लागि भिडियो सम्मेलनमा सहभागी हुनुभएका प्रधानमन्त्रीको उपस्थितिले निकै महत्त्व राखेको थियो। विश्वले उहाँको स्वास्थ्य अवस्थाका बाबजुद पनि अघि सारेका विचारको उच्च मूल्यांकन गरेको थियो।

नेपालको स्रोत, साधन र दक्ष जनशक्ति विकासका लागि उहाँले अघि सार्नुभएको धारणालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्दै भारतले गर्ने सहयोग र दक्ष जनशक्तिको सीप, उपकरण सार्क मुलुकले प्रयोग गर्न सक्ने गरी छुट्टै फन्ट खडा गरेर सचिवालयमार्फत प्रयोग गर्ने र सार्कले कोरोना भाइरस न्यूनीकरणका लागि नमुना प्रस्तुत गर्ने उद्घोषले अझ सबै देशका जनता, कूटनीतिक नियोग, स्वास्थ्यकर्मीलाई उत्साह थपेको छ।