बलियो गुट बनाउने: सिटौला रणनीति


काठमाडौं, (नेस)

महाधिवेशनको तयारीमा जुटेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू आ–आफ्नो गुट बलियो बनाउने रणनीतिमा लागेका छन्।

२०७७ सालको फागुन पहिलो हप्ता १४ औं महाधिवेशन गर्न कार्यतालिकासमेत सार्वजनिक गरिसकेको कांग्रेसभित्र मुख्य गरी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाको तीन गुटसहित अन्य प्रभावशाली नेताहरूको उपगुट क्रियाशील देखिन्छ।

फेरि नेतृत्व हत्याउने रणनीतिमा लागेका सभापति शेरबहादुर देउवाले आफ्नो गुट बलियो बनाउन आमन्त्रित केन्द्रीय सदस्य मनोनित गरेर र विभाग गठन गरेर जिम्मेवारी बाँडफाँड गरिरहनुभएको छ।

वरिष्ठ नेता पौडेल सभापति देउवाका पछिल्लो समय गरेका काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै व्यापक आलोचनासहित जिल्ला दौडाहमा लाग्नुभएको छ।

आगामी महाधिवेशनमा नेतृत्वको दाबी गर्दै आफ्नो छुट्टै प्यानल बनाउने बताउदै आउनुभएका सिटौलाले पनि आफ्ना पक्षका शीर्ष नेताहरूलाई जिल्ला जिल्लामा गएर माहोल बनाउन निर्देशन दिनुभएको छ। सोमबार पनि आफ्ना पक्षका नेताहरूको बैठक राखी नेता सिटौलाले सबैलाई जिल्लामा गएर माहोल बनाउन निर्देशन दिनुभएको थियो।

सिटौला पक्षका नेता केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले जानकारी दिएअनुसार धेरै नेताहरूको सहभागिता रहेको उक्त बैठकमा सबैलाई आ–आफ्नो जिल्लामा गएर सबै कार्यकर्ताहरूसँग घुलमिल हुन अनुरोध गरेका थिए। महाधिवेशनको तयारीस्वरुप क्रियाशील सदस्यता वितरण गर्दैछ। कांग्रेसले यो महाधिवेशनका लागि साढे दुईलाख नयाँ क्रियाशील सदस्यता वितरण गर्दैछ।

१४औं महाधिवेशनमा हाल विद्यमान संख्याको ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने निर्णय गरेसँगै कांग्रेसभित्र क्रियाशील सदस्यको संख्या आगामी महाधिवेशनमा ७ लाख ५० हजार पुग्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार पार्टीमा हाल ४ लाख ९८ हजार क्रियाशील सदस्य छन्।

कांग्रेसभित्र नगरसम्मको कार्यसमिति क्रियाशील सदस्यहरूको प्रत्यक्ष निर्वाचनबाट बन्ने गर्छ। वडाबाट प्रदेश र प्रतिनिधिसभाको लागि क्षेत्रीय प्रतिनिधि छनोट गर्ने काम पनि क्रियाशील सदस्यहरूबाटै हुन्छ भने प्रतिनिधिसभाका क्षेत्रीय प्रतिनिधिले महाधिवेशन प्रतिनिधि र महासमिति प्रतिनिधि छनोट हुन्छ।

त्यही भएर आगामी महाधिवेशनमा नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूले पहिलोचरणमा क्रियाशील सदस्यता वितरणमै ध्यान पु¥याउन थालेका हुन्।