रामदेवको भ्रमण स्थगित, सेनिटाइजर ल्याउने प्रक्रियामा सरकार बाधक: योगपीठ


ईश्वरराज ढकाल, काठमाडौं । 

योगगुरु रामदेव र आचार्य बालकृष्णको नेपाल भ्रमण स्थगित भएको छ। यही चैत २२ देखि साताव्यापी भ्रमणको कार्यक्रम तय भएको थियो।

भारतसहित विश्वका करिक १ सय ५० मुलकमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण उहाँको भ्रमण स्थगित भएको हो।

उहाँहरू पोखरामा योग शिविर सञ्चालन गर्नेलगायतका कार्यक्रममा सरिक हुने कार्यक्रम थियो।

पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिकराम सिंहले भन्नुभयो– ‘यो वर्षको भ्रमण स्थगित भएको छ, अब कहिले हुन्छ निर्णय भएको छैन।’

सरकारले घोषणा गरेको नेपाल वर्ष–२०२० सफल पार्न करिब १ हजार योगगुरु, विभिन्न निकायका विशिष्ट व्यक्ति, कर्मचारीसहित उहाँ नेपाल आउन लाग्नुभएको थियो। नेपालमा पनि कोरोना संक्रमण हुने आशंका बढेपछि सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरिसकेको छ ।

उता, कोरोना भाइरसको संक्रमणबाट बच्न प्रयोग गरिने सेनिटाइजर ल्याउन नपाएकोमा योगपीठले आपत्ति जनाएको छ। योगपीठले नेपाललाई करिब ५० हजार थान सेनिटाइजर निःशुल्क उपलब्ध गराउने प्रक्रिया अघि बढाए तापनि सरकारले रोकेको ट्रस्टको आरोप छ।

‘हामी नेपालीलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने तुलसीको पात, विभिन्न आयुर्वेद औषधि र सेनिटाइजर ल्याउने प्रक्रियामा थियौं।’

सरकारले मापदण्ड बनाएर रोक लगाएका कारण समस्या परेको छ–नेपालका ट्रष्टी सिंहले भन्नुभयो।

‘विश्वका सबै मुलुकमा पतञ्जलीले उत्पादन गरेको आयुर्वेदिक सामग्री खुला रुपमा बिक्रि वितरण भैरहेको अवस्थामा नेपालमा रोक लगाउनु गलत हो।’ –सिंहको भनाइ छ। उहाँले नेपालमा सेनिटाइजरको हाहाकार भैरहेको अवस्थामा नेपालीलाई निःशुल्क वितरण गर्ने पतञ्जलीको कार्यक्रम थियो।

उता करिब पाँच वर्षदेखि पतञ्जली आयुर्वेदिक औषधी ल्याउने प्रक्रिया पनि रोकिएको छ। पतञ्जलीका आयुर्वेदिक औषधी नेपाल ल्याउन नपाएपछि पतञ्जलीको नेपालभरका सबै औषधी पसल बन्द छन्। विश्वविख्यात फोब्र्स पत्रिकाले विश्वका तीन सय ६५औं धनी व्यक्तिको नामले कहलिएको अचार्यकै योजनाअनुसार आयुर्वेदका सामग्री उत्पादन गरी नेपाललगायत विश्वभर बिक्री भैरहेका छन्।