टिपरले ठक्कर दिँदा आमा-छोरीको ज्यान गयो

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे । 

बाटो काट्ने क्रममा आमा र छोरी दुबैलाई टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती नगरपालिका वडा नम्वर ५ बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको छ भने २ राउण्ड हवाई फायर गरेको छ ।

प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका सई, हवल्दार र जवान गरी ३ जना घाईते भएका छन् । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन् । स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन् । यो समाचार तयार पार्दा समेत घटना नियन्त्रणमा आउन सकेको छैन ।

टिपरको ठक्करले आमा छोरी दुबैको ज्यान लिएको छ । पनौतीबाट खोपासीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

छोरीलाई टिपरले ठक्कर दिएपछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको एक प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीखोलास्थित कालिका प्राविको प्रधानाध्यापक रहेकी गोले विरामी भएपछि जचा“उनको लागि बनेपा आएकी थिइन् ।

आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन् । पनौती क्षेत्र हुँदै दैनीक ५ सय भन्दा धेरै टिपरहरु संचालन हुँदै आएका छन् भने काभ्रेमा दैनीक १ हजार ५ सय टिपरहरु चल्ने गरेका छन् ।

पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन् । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन् । मृतकका श्रीमान बैदेशिक रोजगारको क्रममा बाहिर छन् । बाबु जगत गोलेसँग जचाउँन पनौती आउने क्रममा उनलाई टिपरले ठक्कर दिएको हो ।