सिटिजन्स बैंकद्वारा दुई बचत खाता सञ्चालन


काठमाडौं, (नेस)
सिटिजन्स बैंक इन्टरनेसनलले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ उच्चतम् ब्याज तथा सम्पूर्ण सुविधाका साथ दुई नयाँ खाता शुरू गरेको छ।
पाँच हजार रुपियाँमा खाता खोल्न मिल्ने ‘सिटिजन्स संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६ दशमलव ५० प्रतिशतको उच्च  ब्याजदर प्रदान गर्नुका साथै स्वास्थ्य र दुर्घटना मृत्यु बीमाको लाभसमेत प्राप्त गर्न सक्नेछ। यो योजनामा संलग्न हुने ग्राहकका निम्ति ५० हजार रुपियाँको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ५ लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ।
सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध हुनेछ। साथै शून्य पैसामा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६ दशमलव ५० प्रतिशत ब्याजदर प्रदान गरिने ‘सिटिजन्स तलब बचत खाता’ कर्मचारीको तलब व्यवस्थापनको लागि अत्यन्तै फलदायी हुने विश्वास बैंकले लिएको छ।
यो योजनामा संलग्न हुने सम्पूर्ण कर्मचारीको निम्ति २५ हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ३ लाख रुपियाँसम्मको दुर्घटना मृत्यु बीमा गरिएको छ सो बराबरको दाबी भुक्तानी गर्ने सुविधा यस खाताबाहकलाई उपलब्ध गराइने छ।