देशमा अघोषित संकटकाल लाग्यो ः आपूर्तिमन्त्री 


काठमाडौं, (नेस)

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरसका कारण देशमा अघोषित संकटकाल लागेको बताउनुभएको छ। उपभोक्ता अधिकार दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले संकट टार्न सरकार सम्पूर्ण तयारीका साथ खटिएको समेत बताउनुभयो।

‘कोरोना भाइरसका कारण अहिले मुलुकमा अघोषित संकटकाल लागेको छ, संकट टार्न सबै निकाय दिनरात नभनी खटिरहेका छौं’ उहाँले भन्नुभयो–‘संकटका बेला जनता, सरकारी तथा गैरसरकारी निकाय, अधिकारकर्मी सबैको साथ र सहयोग चाहिएको छ।

यो संकट राज्यले कुनै पनि हालतमा टार्छ।’ उहाँले संकटका बेला खाद्य वस्तु र इन्धन मौज्दात नराख्नसमेत आग्रह गर्नुभयो। संकटका बेला काम गरेन भनेर सरकारी निकायलाई आरोप लगाउनुभन्दा कालोबजारी भएको देखेमा सूचना दिन उहाँले आग्रह गर्नुभयो।

संकटका बेला उद्योग, वाणिज्य मन्त्रालयको काम महत्वपूर्ण हुने भन्दै मन्त्री भट्टले अहिले आफू र कर्मचारीहरु २४ घण्टे ड्युटीमा रहेको दाबी गर्नुभयो। ‘कर्मचारीलाई दिनरात नभनी जुनसुकै बेला खटिनुपर्छ भनेको छु’– उहाँले भन्नुभयो।