‘हरेक वर्ष विशेष पर्यटन वर्षका रूपमा मनाऔं’


नेपाल समाचारपत्र, काठमाडौं । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले हरेक वर्षलाई विशेष पर्यटन वर्षका रूपमा मनाउन आह्वान गर्नुभएको छ। आइतबार सबै प्रदेशका पर्यटन सचिव र महानगरपालिकाका प्रतितिधि सम्मिलित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा पर्यटनको विकास गर्नका लागि हरेक वर्ष पर्यटन दिवस मनाउनुपर्ने बताउनुभयो।

मुलुकमा पर्यटन विकासका लागि एक दशकको अवधारणका साथ काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। भ्रमण वर्ष स्थगन भइसकेको अवस्थामा सन् २०३० लाई लक्षित गरी अघि बढ्नुपर्ने उहाँले बताउनुभयो। उहाँले भन्नुभयो–‘कोरोना भाइरसका कारण नेपाल भ्रमण वर्षका कार्यक्रम करिब–करिब स्थगन भइसकेका छन्, अब हामी सन् २०३० सम्मको कार्ययोजना बनाएर अघि बढ्नुपर्छ।’

उहाँले हरेक वर्षलाई विशेष पर्यटन वर्षका रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो।‘अब हरेक वर्षलाई विशेष पर्यटन वर्षका रूपमा मनाऔं, यसका लागि १० वर्षको खाका बनाऔं’–उहाँले भन्नुभयो। उहाँले १५औं पञ्चवर्षीय योजनाले लिएका लक्ष्य प्राप्तिका लागि सोही अनुसार योजना र बजेट विनियोजन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो।

यसका लागि ग्रेटर लुम्बिनीसहितको दीर्घकालीन योजना अनुसार काम गर्न निर्देशनसमेत दिनुभयो। उहाँले अहिले सीमित क्षेत्रमा मात्रै लुम्बिनी फैलिएको छ भन्दै अब तिलौराकोट र भैरहवा विमानस्थललाई समेत समेटी ग्रेटर लुम्बिनी बनाउन निर्देशन दिनुभयो। उहाँले अहिले एक दिन मात्रै बस्ने पर्यटक त्यसपछि ३ दिनदेखि ७ दिनसम्म बस्न सक्ने बताउनुभयो।

त्यस्तै मन्त्री भट्टराईले पहाडमा ‘हिल स्टेसन’, तराईमा ‘ओसन पार्क’ र ‘डेजी ल्यान्ड’ जस्ता आयोजना निर्माण गर्न सकिने योजना सुनाउनुभयो। साथै पर्यटक आकर्षित गर्नका लागि काठमाडौंलगायतका ठाउँमा क्यासिनो जोन बनाउन सकिने बताउनुभयो। ‘होटलैपिच्छे क्यासिनो चाहिन्न, त्यसका लागि क्यासिनो जोन बनाउन सकिन्छ, काठमाडौंलगायतका स्थानमा क्यासिनो जोन बनाउन सकिन्छ,’ उहाँले भन्नुभयो।

पछिल्लो समय पर्यटकलाई विभिन्न क्षेत्रमा रोयल्टी लिने समस्या आइसकेको भन्दै त्यसलाई व्यवस्थित गर्नका लागि एकीकृत रूपमा रोयल्टी संकलन गर्न सकिने उहाँले औंल्याउनुभयो। यसका लागि तीनवटै तह मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ।