भारतको पश्चिम बङ्गाल सरकारद्वारा नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका बन्द

0
Shares

उत्तम नेपाल,भद्रपुर।

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड– १९) को सङक्रमण रोकथामका लागि भारतको पश्चिम बङ्गाल सरकारले नेपालसँग जोडिएको काँकडभिट्टाबाहेक सबै नाका बन्द गरेको छ ।

बङ्गाल सरकारले शनिबार इलामको पशुपतिनगर नाका बन्द गरेकोमा आइतबारदेखि काँकडभिट्टाबाहेक सबै नाका बन्द गरिसकेको जनाइएको छ । भारतको विहार सरकारले भने अहिलेसम्म कुनै नाका बन्द गरेको छैन । झापा जिल्लासँग भारतको बङ्गाल र विहार राज्य जोडिएको छ । बङ्गालसँग काँकडभिट्टा र भद्रपुर नाका पर्छ ।

विहारसँग भद्रपुरसहित केचना, कुमरखोद, गौरीगञ्ज नाका पर्छ । बङ्गालले काँकडभिट्टाबाट भारत आवतजावत गर्ने नागरिकको ज्वरो नाप्न थर्मल गर्नबाट स्वास्थ्य परीक्षण गरेर मात्र प्रवेश गर्न दिइरहेको छ ।

भद्रपुर नाकाबाट बङ्गालतर्फ जाने नागरिकलाई आइतबार बिहानदेखि प्रवेशमा रोक लगाइसकेको प्रहरी कार्यालय झापाका डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।बङ्गालले नाका बन्द गरे पनि त्यसको असर भद्रपुरमा परेको छैन ।

विहारबाट कोरोना भाइरसको परीक्षण गरेर निर्बाध रूपमा दुवै देशका नागरिक आवतजावत गरिरहेका छन् । भद्रपुर नाका बन्द गराउने बारेमा केन्द्रीय सरकारबाट भारतीय एसएसबीलाई अहिलेसम्म आधिकारिक जानकारी नआएको बताइएको छ ।

भद्रपुरसँग विहारसँग जोडिएका केचना, कुमरखोद, गौरीगञ्ज नाका पनि खुल्ला छन् । ती नाकाबाट पनि स्थानीय आवतजावत गरिरहेको झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

यी नाकाबाट आइतबार ९ हजार २ सय ७३ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । त्यसमध्ये १० पुरुष र २ महिला गरी १२ जना भारतीय नागरिकमा उच्च ज्वरो देखिएपछि भारत फिर्ता पठाएको उहाँले जनाउँनुभयो । झापामा कुनै नाका बन्द नभएको उहाँकोभनाइ छ ।