बीमा समितिद्वारा ‘दाबी भुक्तानी मार्गदर्शन–२०७६’ जारी 


नेपाल समाचारपत्र, काठमाडौं

बीमाको दाबी भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउन बनाइएको ‘दाबी भुक्तानी मार्गदर्शन–२०७६’ सार्वजनिक गरिएको छ। बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो छरितो तथा पारदर्शी बनाउनका लागि मार्गदर्शन जारी गरेको हो।

समितिले जारी गरेको मार्गदर्शनअनुसार बीमकले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तान गरिसकेका बिमितको नाममा किस्ता भुक्तान गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नका लागि चाहिने बीमालेख कागजातसमेत संलग्न राखी दाबी भुक्तानी लिन आउनका निमित्त सूचना जारी गर्नुपर्नेछ।

यस्तै, बिमितले जीवन बीमाको दाबी भुक्तानीका निमित्त बीमालेख तथा अन्य कागजातहरू बिमकसमक्ष पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी सात दिनभित्र जीवन बीमाको दाबी भुक्तानी दिनुपर्ने व्यवस्था छ।

यस्तै, बीमालेखमा समाविष्ट जोखिमबाट हानि नोक्सानी भई दायित्व स्थापित भएको अवस्थामा आंशिक भुक्तानी दिन सकिने व्यवस्था बीमा समितिले गरेको छ। मार्गदर्शनमा न्यूनतम दायित्व बीमालेखबाट आउने यकिन भएमा पनि आंशिक भुक्तानी दिन सकिने उल्लेख गरिएको छ।

यद्यपि, बीमा समितिले आंशिक दाबी भुक्तानी गर्दा बीमालेखमा उल्लेख भएकोमा सोहीबमोजिम र सोबाहेक अनुमानित दायित्वको बढीमा एक तिहाईभन्दा बढी रकम प्रदान गर्न नपाइने मार्गदर्शनमा उल्लेख गरेको छ।

निर्जीवन बीमाको दाबी भुक्तानीका निमित्त बिमितको निवेदन प्राप्त भएमा बिमकले जाँचबुझ गर्न आवश्यक परेमा तुरुन्त सर्भेयर खटाउन सक्ने व्यवस्था गरेको छ। सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्र बिमकको दायित्वको निर्धारण गरी त्यसको विस्तृत विवरणसमेतको प्रतिवेदन बिमकसमक्ष पेस गर्नुपर्ने र सर्भेयरले सर्भे प्रतिवेदन बिमकसमक्ष पेस गरेको २१ दिनभित्र बिमकले दायित्व ठहर गरी बिमितिलाई निर्जीवन बीमाको दाबी भुक्तानी गर्नुपर्नेछ।