नयाँ गभर्नर नियुक्तिको प्रक्रिया अघि बढ्दै


काठमाडौं (नेस)

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएलगत्तै गभर्नर नियुक्तिको प्रक्रिया शुरू हुने भएको छ। ओलीको डिस्चार्जसँगै बस्ने पहिलो मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति गठन गर्नेछ। समितिको संयोजकमा अर्थमन्त्री डा. युवराज खतिवडा रहनुहुनेछ।

समितिमा अन्य दुईजनामध्ये एकजना पूर्वगभर्नर हुन्छन् भने अर्को एकजना वित्तीय क्षेत्रका अनुभवी व्यक्ति हुनेछन्। समितिले तीनजनाको नाम सिफारिस गर्नुपर्छ।

तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्त गर्नेछ। तीन जनामध्ये एकजना बहालवाला डेपुटी गभर्नरबाट नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ।

हालका गभर्नर डा. चिरञ्जीवी नेपालको कार्यकाल आगामी चैत ५ गते सकिँदै छ। सामान्यतया गभर्नर अवकाश हुनुअघि नै नयाँ गभर्नर सिफारिस गरिसक्नुपर्ने कानुनी व्यवस्था छ। गभर्नरका लागि हाल डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी, महाप्रसाद अधिकारी, डा. मीनबहादुर श्रेष्ठ, डा. सुवोधकुमार कर्णलगायतको नाम चर्चामा छ।