‘कोर बैंकिङ’ को काम लगाउन नपाउने


काठमाडौं, (नेस)

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारी सेवा विनियमावलीको ढाँचा सार्वजनिक गरेको छ। पुरानै ढाँचामा केही फेरबदल गरेर नयाँ ढाँचा प्रस्ताव गरेको हो। अब बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृति लिएर आफ्नो कर्मचारी सेवा विनियमावली तयार पार्नुपर्छ।

राष्ट्र बैंकको प्रस्तावित ढाँचाअनुसार बैंक तथा वित्तीय संस्थाले सांगठनिक संरचना तथा कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाउनु पर्नेछ। बैंक तथा वित्तीय संस्थाले आफ्नो आवश्यकताअनुसार पद विभाजन र नामाकरण गरी प्रमुख चार श्रेणीमा कर्मचारी नियुक्त तथा पदस्थापन गर्न सक्नेछन्।

व्यवस्थापकीय श्रेणी, अधिकृत श्रेणी, सहायक श्रेणी र सहयोगी श्रणीमा पद विभाजन गर्न सक्नेछन्। बैंकहरूले करारमा पनि कर्मचारी राख्न पाउनेछन्। तर, बैंकको प्रमुख कार्यहरू सम्पादन गर्ने गरी करार वा ज्यालादारी तथा आकस्मिक रोजगारीमा लगाउन पाउन भने छैनन्।

बैंकमा जागिर खान कम्तीमा १८ वर्ष पूरा भएको हुनुपर्छ। ४० नाघेकालाई कर्मचारी नियुक्त गर्न पाइँदैन। महिलाको हकमा भने ४५ वर्षसम्मकालाई जागिरमा राख्न पाइनेछ। यो भनेको बढीमा व्यवस्थापकीय श्रेणीसम्मलाई मात्र हो।

बैंक तथा वित्तीय संस्थामा कार्यरत कुनै कर्मचारीको मृत्यु वा स्वास्थ्यगत आधारमा अवकाश भए उसको पति वा पत्नी तथा अविवाहित छोरा वा छोरीलाई सहायक श्रेणीमा जागिर दिन सकिने भएको छ। यसमा तोकिएको योग्यता र नियुक्तिसम्बन्धी कार्यविधि लागू हुँदैन।

विश्वविद्यालयको सम्बन्धित तहको परीक्षा उत्तीर्ण गरेका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले व्यवस्थापन प्रशिक्षार्थीमा भर्ना गर्न पाउनेछ। उनीहरूको काम राम्रो भए उसलाई सहायक अधिकृत वा वरिष्ठ सहायक पदमा स्थायी नियुक्त दिन सकिने भएको छ।