ठेक्काको दुई वर्षे म्याद गुजे्रपछि एक वर्ष म्याद थप्ने तयारी


नेपाल समाचारपत्र, काठमाडौं । 

भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु र धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्न तोकिएको म्याद गुजे्र पनि निर्माण शुरू नभएपछि म्याद थपको तयारी थालेको छ।

म्याद गुज्रेपछि उक्त ठेक्काको म्याद थप्नुको विकल्प नरहेको भन्दै आयोजना कार्यान्वयन निर्देशनालयले म्याद थपको प्रक्रिया थालेको हो। निर्देशनालयका उपआयोजना निर्देशक उज्ज्वल प्रजापतिले प्रथमपटक ठेक्काको म्याद थप्न लागेको जानकारी दिनुभयो।

‘काम सम्पन्न हुनुपर्ने म्याद गुज्रेर त्यस समयसम्म पनि काम शुरू नभएपछि फेरि ठेक्का थप्न लागेको हो। सन् २०२० को डिसेम्बरसम्म हुने गरी प्रथमपटक एक वर्षका लागि हुने गरी म्याद थप गर्न लागिएको छ’ –उहाँले जानकारी दिनुभयो।

प्रशोधन केन्द्र बनाउन सन् २०१९ डिसेम्बरसम्म काम सक्ने गरी २०१७ जनवरीमा चाइनिज कम्पनी सांघाई सफबोन वाटर सर्भिससँग ठेक्का सम्झौता भएको थियो।

तर, ठेक्काको म्याद गुज्रेको तीन महिनाभन्दा बढी दिन बिते पनि केही प्रगति देखिएको छैन। सँगै ठेक्का लगाएको गुह्येश्वरीको प्रशोधन केन्द्र विस्तारको काम सम्पन्न भएर प्रशोधनसमेत गरिसकेको छ। तर, यहाँको काममा भने कछुवाको गति देखिएको छ।

उपत्यकाको बस्ती तथा उद्योगबाट निस्किएको ढलयुक्त फोहर पानी यति बेला सम्झौताअनुसार व्यवस्थापन हुनुपर्ने हो तर हाल त्यसको ठीक उल्टो भएको छ।

जसको नतिजा काठमाडौं उपत्यकाको गल्ली, सडकदेखि खोला र नदीसम्म परेको छ।

उक्त प्रशोधन केन्द्रमा विभिन्न बस्ती तथा उद्योगबाट निस्किएको फोहर पानीलाई प्रशोधन गरी लेदो र गन्धरहित ढंगले उपत्यकाको विभिन्न खोला तथा नदीमा प्रशोधित पानी मिसाउने योजना छ। तर, कोड्कु प्रशोधन केन्द्रबाहेक अरूमा निर्माणको कामसमेत हुन सकेको छैन।