बैठक बोलाउने ओली–प्रचण्डको तयारी


काठमाडौं, (नेस)

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार भएको भेटवार्तामा सचिवालय बैठक बोलाउने सहमति भएको छ।

मिर्गौला प्रत्यारोपण गरेर प्रधानमन्त्री निवास बालुवाटार फर्केपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच पहिलोपटक भेटवार्ता भएको हो।
उक्त भेटमा प्रचण्डले १२ दिन अस्पतालमा उपचार गराएर निवास फर्केका प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो।

त्यसक्रममा प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको जानकारी दिनुभएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले बताउनुभयो।
स्वास्थ्यलाभको कामना गर्दै प्रचण्डले मिर्गाैलाको सफल प्रत्यारोपण भएकोमा बधाई दिनुभएको थियो। भेटमा प्रचण्डले समसामयिक राजनीतिक अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो। प्रधानमन्त्री ओली मिर्गौलाको सफल प्रत्यारोपण गरेर शुक्रबार डिस्चार्ज हुनुभएको थियो।

यसैबीच कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउने गृहकार्य अगाडि बढाउनुभएको छ। उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभाको सदस्य बनाउने सचिवालयको निर्णय कार्यान्वयन नहुँदा पार्टीभित्र विवाद रहेको छ।

गौतमका कारण सिर्जित विवादले दुई सातादेखि सचिवालयको बैठक बस्न सकेको छैन।

प्रचण्डलाई बैठक बोलाउने अधिकार भए पनि पार्टीभित्रको विवादले बोलाउन सक्नुभएको छैन। सचिवालय बैठक बोलाउने विषयमा निवासमै वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष गौतमलगायतका नेताहरूसँग आन्तरिक गृहकार्य गरिरहनुभएको बताइएको छ।