देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक खटाइने, सबै वडामा विशेषज्ञ चिकित्सक परिचालित


ईश्वरराज ढकाल, काठमाडौं ।

सरकारले देशभर ३६ हजार स्वास्थ्य स्वयंसेवक परिचालन गर्ने भएको छ। देशभरका ६ हजार ६ सय ८४ वडामा उक्त संख्यामा स्वयंसेवक परिचालित हुने बताइएको हो।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसहित दुई मन्त्रालयका सचिवलगायत उच्च अधिकारीबीच शनिबार बसेको बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको हो।

कोरोना भाइरसको संक्रमणबाट बच्न, सेल्फ क्वारेन्टाइनमा बस्दा अपनाउनुपर्ने सावधानीका उपाय र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न स्वयंसेवक परिचालन गर्न लागिएको हो।

हरेक वडामा कम्तीमा ५ जना स्वास्थ्य स्वयंसेवक परिचालन गर्न राष्ट्रिय चिकित्सा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भएको छ।

समितिमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्मा र स्वाथ्य मन्त्रालयका रेशमराज पोखरेल सदस्य रहनुभएको छ।

महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यरत स्वास्थ्य स्वयंसेवीको समेत सहयोगमा स्वयंसेवक परिचालन गर्न लागिएको हो। अधिकांश ठूला स्थानीय तहमा स्वास्थ्य स्वयंसेविका र समिति छन्।

समितिले देशैभरका अस्पताल, नर्सिङहोम, मेडिकल कलेजका विद्यार्थी, सीटीईभीटीअन्तर्गत नर्सिङ क्याम्पसका सञ्चालकसँग छलफल शुरू गर्ने भएकोे छ।

समितिका संयोजक प्राडा गिरीले आज आइतबारबाट छलफल शुरू गर्ने जानकारी दिँदै भन्नुभयो– ‘सबै वडामा स्वयंसेवक परिचालन गर्ने गरी स्थानीय तहमा समिति गठन गर्नेछौं। सकभर यसैसाता परिचालन गर्ने निर्णय गर्नेछांै।’ टोलीमा चिकित्सकको समेत सहभागिता रहने उहाँको भनाइ छ।
सो टोलीले सेल्फ क्वारेन्टाइनमा बसेकालाई उपचार प्रविधि सिकाउने र तत्काल अस्पताल लैजानेसम्मको व्यवस्था गर्नेछ।

समितिले स्थानीय सरकारकै सहयोगमा स्वयंसेवक परिचालन गर्न लागेको हो। समितिले चिकित्सक, नर्स र स्वास्थ्यसँग सम्बन्धित जनशक्ति परिचालन गर्ने अधिकार पाएको छ।

यदि, संक्रमण देखेपछि त्यसबाट कसरी जोगिनेलगायतका विषयमा स्थानीय तहका स्वास्थ्य स्वयंसेवीलाई टोलीले तालिम दिने व्यवस्था छ।
समितिले सबै स्थानीय तहलाई नेपाल रेडक्रस सोसाइटी, क्लब, विभिन्न सामाजिक संघ÷संस्था, महिला समितिलगायतलाई समेत परिचालन गर्न निर्देशन दिनेछ। ‘हामीले एक वडामा ५ जना वा संक्रमण देखिए अन्य जनशक्ति परिचालन गर्नेछौं’ –संयोजक प्राडा. गिरीले भन्नुभयो।

सरकारले कोरोनाको जोखिम सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उच्चस्तरीय समन्वय समिति बनाएको छ। सोही समितिको निर्देशन र निर्णय पालना गर्न स्वयंसेवक परिचालन समिति गठन भएको हो।

‘उहिल्यै बन्द गर्नुपर्ने शिक्षण संस्था हालसम्म सञ्चालन गरिरहेकै छ। पार्टी प्यालेस बन्द गर्न सकेको छैन। हाल दैनिकजसो प्यार्टी प्यालेसमा भोज चलिरहेकै छ। तर, पहिलो चरणमा स्वयंसेवक परिचालन गर्ने निर्णयले जनतामा केही आस पलाएको छ। सरकारले जिम्मा दिएअनुसार तत्काल स्वयंसेवक खटाउने गरी काम गर्नेछांै’ –संयोजक प्राडा. गिरीले भन्नुभयो।