बुटवलमा मेगा बैंकको भवन उद्घाटन


नेपाल समाचारपत्र, काठमाडौं

 

मेगा बैंक नेपाल लिमिटेडले रुपन्देहीको बुटवलमा रहेको निर्मित भवनको उद्घाटन गरेको छ। भवन उद्घाटनको अवसरमा बिहीबार मिलनचोक स्थित आफ्नै जमिनमा नवनिर्मित अत्याधुनिक भवनबाट बुटवलकै पुष्पलाल पार्कमा हाल सञ्चालनमा रहेको बैंकको शाखा कार्यालयलाई स्थानान्तरण गरिएको हो।

 

यसै अवसरमा बैंकको प्रदेश नम्बर ५ को प्रादेशिक कार्यालय पनि उक्त नवनिर्मित भवनबाटै सञ्चालन गरिएको छ। प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले बिहीबार एक समारोहका बीच भवनको उद्घाटन गर्नुभयो।

 

मेगा बैंकले आफ्नै भवनबाट सञ्चालन हुने गरी पहिलो प्रादेशिक कार्यालयका लागि प्रदेश नम्बर ५ लाई रोजेकोमा खुशी व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले धन्यवाद व्यक्त गर्नुभयो। अन्य प्रदेशको तुलनामा प्रदेश नम्बर ५ आर्थिक र औद्योगिक हिसाबले अगाडि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले बैंकिङ क्षेत्रसँगको सहकार्यका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभयो।

 

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले बुटवलमा मेगा बैंकले आफ्नै जमिनमा अत्याधुनिक भवन निर्माण गरी सञ्चालनमा ल्याएकोमा खुसी लागेको बताउनुभयो।

 

मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बैंकको आफ्नै भवन निर्माण भएपछि ग्राहकहरूलाई प्रदान गरिने सेवा, सुविधा लगायत कारोबारमा थप सहज हुने भन्दै उहाँले तत्कालिन पश्चिमाञ्चल विकास बैंकसँगको मर्जरदेखि नै प्रदेश नम्बर ५ मा मेगा बैंकको कारोबार उत्साहजनक भएकोमा अब गण्डकी विकास बैंक गाभिएपछि झन दरिलो उपस्थिति हुने बताउनुभयो।

 

मेगा बैंक ‘बैंक अफ दि एयर २०१९’ बाट सम्मानित हुनुमा प्रदेश ५ का ग्राहकवर्ग, कर्मचारी र सरोकारवालाहरूको पनि श्रेय रहेको भन्दै उहाँले आभार व्यक्त गर्नुभयो। ग्राहकको विश्वास जित्दै अघि बढिरहेकाले मेगा बैंकले बैंकिङ कारोबारसँगै वित्तीय साक्षरता र परोपकारी कार्यलाई पनि प्राथमिकता दिएको सिइओ खुञ्जेलीले बताउनुभयो।

 

भवन उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विष्णुबहादुर थापा, मेगा बैंक सञ्चालक समितिका सदस्यहरू गोपाल खनाल, मदन आचार्य, डादशमलव इन्द्रबहादुर मल्ल ठकुरी, शिवादेवी काफ्ले, बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा बुटवल क्षेत्रका उद्यमी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरू, कर्मचारीहरू लगायतको सहभागिता थियो।