भारतीय दूतावासको चासो

0
Shares

काठमाडौं, (नेस) ।
काठमाडौंस्थित भारतीय राजदूतावासले विदेशी एवं भारतीय नागरिकहरू भारत प्रवेश गर्दा र भारतबाट बाहिरिँदा अपनाउनुपर्ने केही स्वास्थ्य सुरक्षा उपायहरू लागू गरेको छ।
दूतावासले पछिल्लो समय विश्वव्यापीरूपमा फैलिँदै गएको कोभिड–१९ ले जनस्वास्थ्य तथा सुरक्षामा निम्त्याएको जटिलतालाई ध्यानमा राख्दै भारतीय तथा विदेशी नागरिकको यात्रा तथा आवतजावतमा न्यूनतम असुविधा कायम गरी स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्नु स्वास्थ्य सुरक्षा कदमको मुख्य अभिप्राय भएको बताएको छ।
प्रकोपको अवस्था हेरी उपायहरूको निरन्तर समीक्षा गरिने विज्ञप्तिमा उल्लेख छ।
सुरक्षाका उपायहरू नितान्त जनस्वास्थ्य तथा सुरक्षासँग सम्बन्धित भएको जनाइएको छ। हाललाई यी उपायहरूले हवाई तथा स्थल मार्गद्वारा भारततर्फ यात्रा गर्ने नेपाली नागरिकलाई कुनै असर नगर्ने बताइएको छ। नेपाली नागरिकका लागि रहिआएको यात्रा प्रबन्धलाई यसले कुनै प्रभाव नपार्ने पनि बताइएको छ।
सबै नाकामा स्वास्थ्य परीक्षणलाई थप प्रबल बनाइने र भारतीय, नेपाली वा तेस्रो मुलुकका यात्रुमा कोभिड–१९ को लक्षण देखिएमा वा कोभिड–१९ प्रभावित ७ राष्ट्रहरूमध्ये कुनै एकको हालै भ्रमण गरेको पाइएमा त्यस्तो व्यक्तिलाई क्वारेन्टाइनमा राख्न सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।