बीमा व्यवसायबारे अर्थमन्त्री र सांसदबीच जुहारी


काठमाडौं, (नेस)

बीमा व्यवसाय हो कि हैन भन्ने विषयलाई लिएर अर्थमन्त्री र सांसदबीच जुहारी चलेको छ। बुधबार बसेको अर्थसमितिको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडा र सांसद प्रेम सुवालबीच विवाद भएको हो।

डेढ वर्षअघिदेखि अड्किएको बीमा विधेयकलाई पूर्णता दिन अर्थ समितिमा छलफल शुरू भएको छ। बीमा ऐन २०७५ का विषयमा समितिमा बुँदागत रूपमा छलफल शुरू भएको हो। समितिको बुधबार बसेको बैठकमा ऐन संशोधनसहित नयाँ प्रावधानको प्रस्तावमाथि छलफल भएको थियो। बीमा ऐन २०७५ लाई नै लिएर अर्थमन्त्री र सांसदबीच वादविवाद भएको हो।

बैठकमा बोल्दै सांसद प्रेम सुवालले बीमा ऐन २०७५ को परिभाषा नै गलत भएको बताउनुभयो। उहाँले व्यवसाय हुन आफ्नै उत्पादन हुनुपर्ने बताउँदै बीमामा त्यस्तो नभएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो–‘व्यवसाय हुन कुनै पनि क्षेत्रको आफ्नै उत्पादन हुनुपर्छ। त्यसले उत्पादनको आधारमा नाफा आर्जन गरेको हुनुपर्छ। बीमाको आफ्नै उत्पादन के छ ? बीमाको राष्ट्रिय उत्पादनमा के योगदान छ ? ’

उत्पादनमा आधारित क्षेत्र नभएकाले बीमालाई व्यवसायीक क्षेत्र भन्न नमिल्ने बताउँदै सांसद सुवालले यसको परिभाषा नै संशोधन गर्नुपर्ने धारणा राख्नुभयो। सांसद सुवालको प्रश्नको जवाफमा अर्थमन्त्री खतिवडाले बीमा क्षेत्र सेवामुलक व्यवसायीक क्षेत्र भएकाले व्यवसाय नै हुने जिकिर गर्नुभयो। अर्थमन्त्रीको कुरामा सांसद सुवाल सहमत हुनुभएन।

उहाँले फरि दोहो¥याउनुभयो ‘बीमा क्षेत्रलाई कुन शास्त्र र विश्व विद्यालयले व्यवसाय भन्यो। उदाहरण पेश गर्नुहोस्। नत्र त्यसै आफुखुशी बीमाको व्याख्या गर्न पाइँदैन।’ प्रतिउत्तरमा अर्थमन्त्री खतिवडाले विश्वका जोसुकै अर्थशास्त्री र विश्वविद्यालय गएपनि हुने बीमा व्यवसाय नै भएको जिकिर गर्नुभयो।

बीमा ऐन २०७५ ले बीमा क्षेत्रलाई व्यवसायीक क्षेत्र भनेर व्याख्या गरेको छ।यसै बीमा ऐन संशोधनको विषयमा बोल्दै सांसद सुवालले पहिलेको बीमा समिति खारेज गर्ने र समितिको साटो बीमा प्राधिकरण ल्याउने विषयमा समेत असहमति जनाउनुभयो।छलफलमा बोल्दै अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बिमा व्यवसाय त हो तर सेवा सहितको व्यवसाय हो भन्ने प्रतिक्रिया दिनुभयो।