खाना पकाउने ग्यास पर्याप्त छ: मन्त्रालय

0
Shares

डीबी बुढाथोकी, काठमाडौं

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा सहप्रवक्ता उर्मिला केसीले एलपी ग्याँसमा खासै समस्या नभएको बताउनुभएको छ। ग्याँस आपूर्तिमा भारतले कुनै आनाकानी नगरेको उहाँले नेपाल समाचारपत्रसँग बताउनुभयो।

नेपालमा हाल ६९ वटा ग्याँस उद्योग रहेको र नेपाल आयल निगमले उपलब्ध गराएको पीडीओ( प्रोडक्ट डेलीभरी अर्डर) का आधारमा उद्योगीहरूले भारतबाट सहजै ग्याँस आयात गर्ने गरेको उहाँले जानकारी दिनुभयो। मास्क र सेनिटाईजरमा पनि आत्तिहाल्नु नपर्ने उहाँको सुझाब छ। ‘मास्क र सेनिटाईजरमा भन्सार छुट गर्न अर्थमन्त्रालयलाई अनुरोध गरिएको छ।

हाल बिरगंज नाकमा मास्क र सेनिटाईजर रोकिएकाले त्यो छिट्टै भित्रन्छ’– प्रवक्ता केसीले भन्नुभयो–‘उद्योग वाणिज्य महासंघ अन्तर्गका व्यावसायीहरूलाई मास्क बनाउने मेसिन ल्याउन आग्रह गरिएको छ।’

बिश्व स्वास्थ्य संगठनले नेपाललाई कोरना भाइरसवाट नेपाल उच्च जोखिमयुक्त मुलुकमा सूचिकृत गरेको कारण खाद्यन्न, पेट्रोलियम पदार्थ, एलपी ग्याँस, औषधी लगायतका अत्यावश्यक बस्तुहरूको हालको अवस्था, भोग्नु परेका समस्या र समाधानका बिषयमा उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयमा बुधबार बिहान बैठक समेत बसेको थियो।

बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टसहित औषधी ब्यबस्था बिभाग, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कसर्श, ठूला ब्यापारीहरू (डिपार्टमन्टल स्टोर, सुपर स्टोर) बैठकमा उपस्थिती रहेको थियो।

बैठकमा उपभोक्ताहरूलाई उपभोग्य बस्तुहरूको अभाब नभएको आस्वस्त पार्ने, ब्याबसायीहरूले अत्यावश्यक बस्तुहरू सहज आपूर्ति गर्ने, अत्यावश्यक वस्तुको मूल्य वृद्धि हुन नदिने, एलपी ग्याँसमा देखिएको समस्या नेपाल आयल निगमले हल गर्ने, औषधी आपूर्ति नियमित गर्ने निर्णय गरेको छ।

औषधी ब्यवस्था बिभाग, बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग लगायतका निकायहरूवाट अनुगमन गर्ने, सम्बद्ध ब्यवसायीहरूले अनुगमनमा सहयोग गर्ने, औषधी लगायत अत्याबश्यक बस्तुहरूको तथ्याङ्क अद्याबधिक गर्ने र सोको सहि सूचना उपभोक्ता बर्गहरूमा सम्प्रेशण गर्ने निर्णय बैठकले गरेको छ।

कुन सामाग्रीको कति मौज्दात ?
नुन, चिनी, चामल एलपी ग्याँस तत्कालै हाहकार नभईहाल्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगतका निकायहरूले जानकारी दिएका छन्। नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थ(डिजेल, मट्टीतेल र हवाई इन्धन)– ६८ हजार ३ सय ६४ केएल रहेको छ। जुन ९ दिन पुग्ने मौज्दात हो। त्यस्तै खाना पकाउने एलपी ग्याँस–७ दिन पुग्ने मौज्दात रहेको छ। साल्ट टे«डिङका अनुसार नुन १ लाख ३६ हजार मेट्रिक टन रहेको छ।

जुन ६ महिना पुग्ने मौज्दात हो। खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका अनुसार २५ हजार ६ सय ६९ मेट्रिक टनखाद्यन्न मौज्दात रहेको छ। यो मौज्दात कम्तिमा ३ महिना पुग्ने लिमिटेडको दावी छ। उद्योगीहरूसंग १ लाख १ हजार मेट्रिक टन र साल्ट ट्रेडिङसंग १० हजार मेट्रिक टन चिनी मौज्दात रहेको छ। यो मौज्दात कम्तिमा ५ महिनाका लागि प्रयाप्त हुने बताइएको छ।