आगलागीमा परी एकको मृत्यु

0
Shares

बाँके, (नेस)
नेपालगन्ज–गुलरिया सडकखण्डको इन्द्रपुरस्थित चप्पल उद्योगमा लागेको आगलागीमा परेर एकजना जलेका छन्। अर्का एकजना घाइते भएका छन्।
बाँकेको जानकी–३, इन्द्रपुरमा रहेको जय सियाराम मेनुफैक्चरिङ इन्ड्रस्टिज प्रालीमा गए राति १२ बजेदेखि बिहान आठ बजेसम्म आगो लाग्दा एकजना जलेका हुन्। जलेका व्यक्तिको सनाखत हुन सकेको छैन। राति एक बजेतिर ठूलो आवाजमा आएको स्थानीय बताउँछन्। आगलागीसँगै त्यो आवाज आएको थियो।
अमरजित सिंह र मनु केडियाले सञ्चालन गरेको चप्पल उद्योगमा कसरी आगो लाग्यो खुल्न सकेको छैन। उद्योगमा एक्कासि आगो लाग्दा राति एक बजेदेखि डिउटीमा बस्न त्यही सुतेका दिलीपकुमार चमार घाइते भएका छन्। घाइते चमारको भेरी अस्पताल, नेपालगन्जमा उपचार भइरहेको छ। उनको हात र खुट्टामा पोलेको थियो।
बाँके र बर्दियाका ६ वटा दमकल ल्याएर आगो नियन्त्रणमा ल्याइएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र विहान आर्मीको टोली पुगेको थियो। जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज नजिकै पर्ने भएकाले डीएसपी शिवबहादुर सिंहको टोली राति सवाएक बजे नै घटनास्थलमा पुगेको थियो। विष्फोटको आवाज आउने बित्तिकै प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी जाँदा आगो लागिसकेको थियो।
बिहान आठ बजे आगो नियन्त्रणमा आएपछि प्रहरीले घटनास्थलमा नियाल्ने क्रममा जलेको अवस्थामा शव फेला परेको बाँके प्रहरीका प्रवक्ता डीएसपी सिंहले बताउनुभयो। ‘मान्छे चिनिने अवस्थामा छैन। सोधपुछ गरेर सनाखत गर्ने प्रयास भइरहेको छ, प्रवक्ता सिंहले भन्नुभयो, राति को–को त्यहाँ सुतेका थिए बुझिरहेका छौं।’