मेडिकल कलेजका शिशु बन्धककर्तालाई पाँच वर्ष कैद

0
Shares

तानसेन। 

पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ । मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले रु ५० हजार क्षतिपूर्ति र रु ५० हजार जरिवानाको फैसला सुनाएको स्रेस्तेदार कृष्ण मुरारी सिग्देलले जानकारी दिनुभएको छ ।

शिशु लिएर फरार भएकी पाण्डेलाई प्रहरीले गत असार २८ गते गिरफ्तार गरेको थियो । प्रभासमा तानसेन नगरपालिका वडा नं ९ डाँडाडुमका २२ वर्षीया जमुना रानाले २७ गते जन्माएको छोरालाई उनले अपहरण गरेकी हुन् । सुत्केरी छोरीको हेरचाहका निम्ति बसेकी आमाले ज्वानोको लिन गएका बेला बच्चा काखमा लिएर सहयोग गर्ने भन्दै पाण्डे पनि बच्चा लिएर अस्पतालकै क्यान्टिनमा गएकी थिइन् । ज्वानोको झोल लिएर जानुस् म बच्चा लिएर आउँछु भनेकी विमकला अस्पतालको तल्लो तलाबाटै भागेकी हुन् ।

छोरी भएको ठाउँ अस्पतालको माथिल्लो तलामा केहीबेरसम्म पर्खिंदा पनि नआएपछि बल्ल शिशु हराएको परिवारले पत्तो पाएका थिए । शिशु लिएर कालीगण्डकी ए परियोजनामा सरसफाइ कर्मचारीका रुपमा कार्यरत उनी सोही स्थान कार्यालयको कोठामा पु¥याएकी थिइन् । शिशु हराएको भन्दै अस्पतालबाट प्रहरीमा जानकारी भएलगत्तै खोजी गर्दा पाण्डेलाई बच्चासहित कोठामा भेटिएको थियो । सामाजिक सञ्जालभरि शिशु हराएको सूचना पाएका स्थानीयले बच्चा रोएको र उनी गर्भवती नभएकाले आशङ्कामा प्रहरीलाई खबर गरेका थिए । सुत्केरीको भेषमा नाटक तरिकाले बसेकी पाण्डे र शिशुलाई सकुशल फेला पारेको प्रहरीले असार २८ मै परिवारलाई बुझाएको थियो ।