लगानीकर्तामा कोरोना त्रास, शेयर बजारमा पहिरो


परिवर्तन देवकोटा, काठमाडौं । 
विश्वभर फैलिएको कोरोनाको त्रासका कारण विश्व शेयर बजारमा उच्च गिरावट आइरहेको समयमा नेपालमा पनि असर देखिएको छ। कोरोनाको सन्त्रासका कारण लगानीकर्ताहरू लगानीका लागि इच्छुक नदेखिएको शेयर बजार विज्ञहरूले बताएका छन्।
साताको तेस्रो दिन मंगलबार शेयर बजारमा भारी अंकमा गिरावट आएको छ। विश्व अर्थतन्त्र संकुचनको अवस्थामा रहेपछि विश्व शेयर बजारमा पहिरो जाँदा नेपालमा पनि त्यसको असर देखा परेको हो। चार दिनसम्म बन्द भएको शेयर बजारमा मंगलबार ८६ दशमलव ३९ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार परिसूचक नकारात्मक भएपछि दिनभरीमा तीन पटकसम्म ‘सर्किट ब्रेक’ लागेको छ।
मंगलबार कारोबार दुईपटक केही समयका लागि रोकिएको थियो। तेस्रोपटक भने ६ प्रतिशतले बजार घटेपछि बुधबार मात्रै कारोबार सुचारू हुने गरी बन्द गरिएको हो। बजारमा लगानीकर्ता ‘पेनिक’ बन्दा मागभन्दा आपूर्ति अत्यधिक देखिएको छ।
मंगलबार दिनभर १ सय ६१ कम्पनीको २७ लाख ३५ हजार ४ सय १८ कित्ता शेयर १ अर्ब ७ करोड ६६ लाख रुपियाँभन्दा बढीमा खरिदबिक्री भएका छन्। मंगलबार सबै उपसूचकहरू रातो भएका छन्। जीवन बीमा सूचक ७ सय ६२ अंक र निर्जीवन बीमा सूचक ३ सय ६२ अंकले झरेको छ। यस्तै वाणिज्य बैंकको सूचक ८३ अंकले झरेको छ भने होटल १ सय २० अंकले ओरालो लागेको छ। लघुवित्त १०३ अंकले घटेको छ।
यसदिन सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ। यस कम्पनीको ८ करोड ५८ लाख रुपियाँभन्दा बढी कारोबार भएको छ। यसदिन एनआईबीएल समृद्धि फन्ड–१, आरएमडीसी लघुवित्त, सिटिजन्स म्युचुअल फन्ड–१, घलेम्दी हाइड्रो, युनिभर्सल पावर, वरुण हाइड्रो, कालिका पावर र मेरो माइक्रोफाइनान्सका लगानीकर्ताले कमाएका छन्।
गुमाउनेमा नेको इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कम्पनी, एभरेस्ट इन्स्योरेन्सलगायतका लगानीकर्ता रहेका छन्। यसअघि गत सोमबार शेयर बजार अत्याधिक मात्रामा घट्दा ‘सर्किट ब्रेक’ लगाउनुपरेको थियो। त्यसदिन बजार छ प्रतिशतले ओरोलो लागेपछि कारोबार केही समय स्थगित गर्नुपरेको थियो।
‘प्राविधिक ज्ञानको अभाव’
नेपाल शेयर लगानीकर्ता संघका अध्यक्ष्ँ उत्तम अर्याल लगानीकर्तामा प्राविधिक ज्ञानको अभाव हुँदा बजारमा नकारात्मक असर देखा परेको बताउनुहुन्छ। उहाँका अनुसार पछिल्लो समय बजारमा अनलाइन कारोबारमा ५० प्रतिशतको हाराहारीमा लगानीकर्ता रहेको बताउँदै उनीहरूमा प्रयाप्त ज्ञान नहुँदा बजार अलमलमा परेको हो।
नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो–‘बजारबारे प्राविधिक ज्ञान नहुँदा अनलाइन कारोबार हचुवाका भरमा हुने प्रवृत्ति बढ्यो, जसको असर अहिले देखियो।’ उहाँले लगानीकर्तामा पुँजी बजारको ज्ञान भए पनि प्राविधिक ज्ञान भएको नपाइएको सुनाउनुभयो। अध्यक्ष अर्यालले विश्वमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक हल्ला चलेका कारण लगानीकर्तामा त्रास उत्पन्न हुँदा पनि बजारमा नकारात्मक असर परेको बताउनुभयो।
‘कोरोनाबारे अनावश्यक हल्ला फैलाइयो’
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले कोरोना भाइरसको त्रास फैलिँदा लगानीकर्ताले लगानी नगरी घरमा नगद राखेको बताउनुभयो। उहाँले भन्नुभयो–‘कोरोनाको त्रास यतिसम्म फैलियो कि, लगानीकर्ताले लगानी नगर्ने भए, घरमा नगद जम्मा गर्ने भए।’
अन्य मुलुकमा जस्तो नेपालमा कोरोनाले अस्तव्यस्त नपारेको भए पनि यसबारे चलेको अनावश्यक हल्लाका कारण बजार अस्तव्यस्त बनेको उहाँले बताउनुभयो। उहाँले विगत केही समयदेखि शेयर बजार लयमा फर्किरहेको अवस्थामा अहिले एकाएक बजार घट्नुले लगानीकर्ता त्रसित रहेको देखिएको बताउनुभयो। उहाँले नेपालमा बजारै अस्तव्यस्त बनाउने गरी कोरोना भाइरसको प्रभाव नपरेको दाबी गर्दै गलत हल्लाको कारण शेयर बजारमा पहिरो गएको उल्लेख गर्नुभयो।
नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो–‘बजारमा कोरोना भाइरसबारे यति धेरै गलत हल्ला फैलाइयो, जसका कारण शेयर बजारमा लगानी घट्यो।’ पहिला अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारका बारेमा दिनुभएको मन्तव्यका कारण लगानी प्रभावित हुने गरेको भए पनि अहिले भने बजार घट्नुमा यो कारण नरहेको उहाँले स्पष्ट पार्नुभयो।
‘शेयर बजारमा नीतिगत सुधार ल्याउन अर्थमन्त्री खतिवडाले पहल गरिरहनुभएको छ, उहाँले आफ्नो धारणासमेत परिवर्तन गरिसक्नुभएको छ, यस्तो अवस्थामा उहाँप्रति नेगेटिभ हुनुको अर्थ हुँदैन’ उहाँले भन्नुभयो–‘उहाँ अर्थमन्त्री भएपछि पनि शेयर बजार त बढेको छ, त्यसैले यस्तो चर्चा गर्नु उपयुक्त हुँदैन।’
उहाँले पुँजी बजारमा विदेशी कम्पनीहरू पनि खासै नभएको भन्दै नेपाली कम्पनीमा कोरोना त्रासकै कारण आकर्षण नदेखिनु लगानीकर्ताको मनोविज्ञानमा भर परेको उल्लेख गर्नुभयो। अध्यक्ष रौनियारले कोरोनाले नेपालमा कुनै असर नपारेको बताउँदै शेयर बजारमा लगानीकर्ताले नडराई लगानी गर्नुपर्नेमा जोड दिनुभयो।
स्टक ब्रोकर एसोसियसनको अध्यक्ष भरत रानाभाटले विदेशमा जस्तै नेपालको शेयर बजारमा पनि कोरोना भाइरसको प्रभाव परेको बताउनुभयो। उहाँले नेपालमा कोरोना भाइरसको असर पर्दै नपरेको बताउँदै लगानीकर्ताले लगानी गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो–‘कोरोनाको त्रास भगाएरै बजारमा लगानी गर्नुपर्छ।’
उहाँले केही समयदेखि निरन्तर बढिरहेको शेयर बजार एक्कासी घट्नुमा कोरोना त्रासबाहेक अन्य कारण नदेखिएको बताउनुभयो। नेपालमा कुनै कुराको नकारात्मक हल्ला चल्ने बित्तिकै त्यसको प्रभाव शेयर बजारमा पर्ने गरेको सुनाउँदै अध्यक्ष रानाभाटले अहिले पनि कोरोनाकै हल्ला फैलिएकाले बजारमा असर परेको उल्लेख गर्नुभयो। उहाँले अबको एक दुई दिनमा शेयर बजार पुनः लयमा फर्कने विश्वास व्यक्त गर्नुभयो।