कृषि व्यवसायी हातेट्याक्टर

0
Shares

लमजुङ, (नेस)

राइनास नगरपालिकाले कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउन कृषकलाई अनुदानमा हातेट्याक्टर वितरण गरेको छ।

राइनास नगरपालिकाको कृषिशाखाले ५० प्रतिशत अनुदानमा ३२ जना किसानलाई हातेट्याक्टर वितरण गरेको हो। ४७ हजार पर्ने उक्त हाते ट्याक्टर खरिदका लागि नगरपालिकाको ५० प्रतिशत र किसानले ५० प्रतिशत अर्थात् २३ हजार ५ सय रूपियाँ तिरेका छन्।

किसानहरुलाई हाते ट्याक्टर हस्तान्तरण गर्दै राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले कृषि व्यवसायलाई प्रविधिमैत्री बनाउँदै उत्पादन वृद्धि गर्ने उद्देश्यका साथ अनुदानमा ट्याक्टर वितरण गरेको बताउनुभयो।

चालू आर्थिक वर्षको कृषि विकास कार्यक्रमअन्तर्गत पालिकाभित्रका किसानको मागलाई मध्यनजर गरी प्रत्येक किसानलाई १–१ वटा हातेट्याक्टर वितरण गरिएको कृषि शाखा प्रमुख रघु अधिकारीको भनाइ छ। उहाँका अनुसार हातेट्याक्टर अनुदानका लागि १ सय ३२ जनाबाट माग भएकोमा सीमित बजेट भएकाले यस वर्ष ३२ जना किसानलाई मात्र वितरण गरिएको हो।