नारायणहिटीको गुरुयोजना बनाइने

0
Shares

काठमाडौं, (नेस)

नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ।
गणतन्त्र स्मारकमा मंगलबार भएको उच्चस्तरीय छलफलमा उक्त सहमति भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा उक्त गुरुयोजना बनाइन लागिएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा भएको उक्त छलफलअघि नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन गरिएको थियो।

नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक क्षेत्रको हालको अवस्था र गुरुयोजनाको आवश्यकताबारे भएको छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सोही मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको पनि सहभागिता थियो। अहिले केशर महलको प्रवलीकरण भइरहेको छ भने नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पुनर्निर्माण भइरहेको छ।