कोरोना कहर ः रित्तै उडे जहाज

0
Shares

परिवर्तन देवकोटा, काठमाडौं । 

नेपालको प्रमुख श्रम गन्तव्यमध्येको एक मुलुक कतारले श्रम स्वीकृति तथा बाह्य यात्रु भित्र्याउन रोक लगाएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाज रित्तै उड्नु परेको छ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिबन्ध लगाएसँगै जहाज रित्तै उड्नु परेको हो।

त्रिभुवन विमानस्थलका अनुसार कतारमा नेपाल एयरलाइन्सको विमान रित्तै गएर नेपाली ल्याएको थियो। ‘जाँदा रित्तै गयो, आउँदा नेपाली लिएर आयो।’ –विमानस्थलमा खटिएका एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने।

यात्रु घट्दा उडान प्रभावित
विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा झन्डै ५० प्रतिशत यात्रु घटेका छन्।

प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय उडान निकै नै प्रभावित भएको बताउनुभयो। ‘कोरोनाका कारण यात्रु झन्डै आधा घटेका छन्।’ –नेपाल समाचारपत्रसँग उहाँले भन्नुभयो।

यात्रुको संख्या घटेसँगै अन्तर्राष्ट्रिय उडानमा पनि २० प्रतिशतको कमी आएको छ। सूचना अधिकारी पौड्यालले भन्नुभयो– ‘कोरोनाका कारण यात्रुको संख्या त घटेको छ नै, उडानमा पनि २० प्रतिशतको हाराहारीमा कमी आएको छ।’

उहाँले चीनबाट यसअघि बिहान–बेलुका गरेर हप्तामा ६५ वटा उडान हुने गरेकोमा अहिले हप्तामा ८ देखि १० वटा मात्र हुने गरेको बताउनुभयो।
अन्तर्राष्ट्रिय हवाई मापदण्डअनुसार उडान रोक्न नमिल्ने भएकाले धेरै वायु सेवा प्रदायकले उडान रोकेका छैनन्।

तर, कोरोना प्रभावित मुलुकहरूको दुईतर्फी उडानमा कटौती गरिएको छ। चीन, जापान, दक्षिण कोरिया, इटाली, इरानलगायतका विभिन्न देशमा कोरोनाबाट धेरै प्रभावित छन्। यी देशसँगको उडानमा कटौती नभए पनि यात्रुको संख्यामा कमी आएको बताइन्छ। जापान, कतारको उडानमा समस्या नआए पनि यात्रुको संख्यामा कमी आएको छ।

दोहा उडान रद्द

नेपाल एयरलाइन्सले दोहामा गर्दै आएको उडान मंगलबारबाट लागू हुने गरी रद्द गरेको छ। नेपाली पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान १० मार्च २०२० देखि अर्को निर्णय नहुन्जेल स्थगित गर्नुपरेको एयरलाइन्सले जनाएको छ।
उक्त एयरलाइन्सका अनुसार २६ फागुन २०७६ पछिका उडानका टिकट खरिद गरेका यात्रुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ।

स्पेन, फ्रान्स र जर्मनीलाई भिसामा नियन्त्रण

नेपालले थप तीन देशका नागरिकलाई आगमनपछि विमानस्थलमै प्रवेशाज्ञा दिने (अन अराइभल भिसा) प्रावधान स्थगित गरेको छ।
कोरोना भाइरसको उच्च जोखिम भएका स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई अनअराइभल भिसा नदिने निर्णय गरिएको हो।
नेपालले कुल ८ वटा देशका नागरिकलाई अनअराइभल भिसा बन्द गरेको छ। यसअघि नै चीन, दक्षिण कोरिया, सिंगापुर मलेसिया इटलीका नागरिकका लागि अन अराइभल भिसामा रोक लगाइसकिएको छ। नेपाल आउनुपूर्व त्यहांँ रहेको नेपाली दूतावास वा नियोगमा आफू स्वस्थ्य रहेको प्रमाणपत्र पेस गरेपछि मात्रै भिसा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।