बजार अनुगमन गर्न विशेष संयन्त्र बनाइंदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
कोरोना त्रासलाई देखाएर बजारमा कृत्रिम अभाव सृजना गर्ने तथा चर्को मूल्य असुल्नेविरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बन्ने भएको छ ।
वर्तमान आपूर्ति अवस्थाबारे सोमबार सञ्चारकर्मीहरुसँग छलफल गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल प्रहरीसहितको संयुक्त अनुगमन संयन्त्र बनाउन लागिएको बताउनुभएको हो ।
काठमाडौं उपत्यकासहितका ठूला शहरमा वाणिज्यको अनुगमन टोलीलाई सहयोग गर्ने गरी टोली बनाउन गृह मन्त्रालयसँग छलफल चलिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘ काठमाडौं उपत्यकासहितको ठूला शहरमा यस्तो टोली बनाउन गृह मन्त्रालयसँग छलफल शुरू भएको छ ।’
मन्त्रालय माताहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, आयल निगम र मन्त्रालयको एकीकृत टोलीले अहिले पनि बजार अनुगमन गरिरहेको भन्दै मन्त्री भट्टले नेपाल प्रहरीलाई त्यहाँ जोडिने बताए ।
काठमाडौंमा तत्कालै शुरू हुने यस्तो युनीफाइड अनुगमन प्रदेशमा भने प्रदेश सरकारको अनुकुलतामा गठन गरिने उहाँको भनाइ छ । अत्यावश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरुका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ थियो ।
छलफलका क्रममा उहाँले सरकारी संस्थान र कम्पनीसंग खाद्यन्न र नुन चिनी जस्ता अत्यावश्यक वस्तुको मौज्दात प्रशस्त रहेको भन्दै नीजि क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्ने चेतावनी दिनुभयो ।