अस्ट्रेलियाले जित्यो टी–२० विश्वकप

0
Shares

मेलबर्न, (एजेन्सी)
अस्ट्रेलियाले भारतलाई ८५ रनले पन्छाएर पाँचौंपटक महिला टी–२० विश्वकपको उपाधि जितेको छ।
मेलबर्नमा आइतबार भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १ सय ८४ रन बनायो। यसको जवाफमा भारतीय टोली १९ दशमलव १ ओभरमा अलआउट हुँदै ९९ रनमा समेटियो। अस्टे«लियाका तर्फबाट मेगान शुटले सर्वाधिक ४ विकेट लिइन् भने जेस जोनासनले ३ विकेट हासिल गरिन्।
भारतका शीर्ष ५ खेलाडीलाई सस्तैमा आउट गर्नु नै अस्टे«लियाको उपाधि पक्का भएको हो। टोलीकी स्टार खेलाडी शेफाली वर्माले २ रन बनाइन् भने स्मृति मंधानाले ११ रन, तानिया भाटियाले २ रन, हरमनप्रीत कौरले ४ रन जोड्दा जेमिमा रोड्रिग्वेज शून्यमा आउट भएकी थिइन्। भारतले समूह चरणमा भने आयोजक अस्ट्रेलियालाई स्तब्ध तुल्याएको थियो। भारतको ब्याटिङ शुरुआत गर्न आएका मंधाना र जेमिमा छिट्टै पवेलियन फर्के। मंधानालाई सोफी मोलिनिक्सले निकोला कैरीद्वारा क्याच आउट गराइन्। जेमिमाको क्याच जोनासनको बलमा कैरीले नै क्याच गरेकी हुन्। फाइनल खेलेकी सबैभन्दा कान्छी खेलाडी शेफाली पनि २ रनमै पवेलियन फर्किइन्। उनलाई मेगानले विकेटकिपर एलिसा हेलीद्वारा क्याचआउट गराइन्।
शेफाली महिला र पुरुषको विश्वकप क्रिकेट फाइनलमा खेल्ने सबैभन्दा कान्छी खेलाडी हुन्। अस्ट्रेलियाविरुद्ध टी–२० विश्वकपको फाइनल खेल्नेबित्तिकै उनले सो उपलब्धि हासिल गरिन्। उनको उमेर १६ वर्ष ४० दिनको रहेको छ। यसअघि वेस्ट इन्डिजकी महिला क्रिकेटर शकाना क्विनटाइनले सन् २०१३ मा वानडे विश्वकप फाइनलमा कान्छी खेलाडीको कीर्तिमान राखेकी थिइन्। त्यतिबेला उनको उमेर १७ वर्ष ४५ दिनको थियो।
यसअघि अस्ट्रेलियालाई बलियो योगफलमा पु¥याउन ओपनर एलिसा हिलीले ३९ बलमै ७५ रनको योगदान दिइन्। यो हिलीको करियरको १२औं अर्धशतक हो। यस्तै बेथ मुनीले नटआउट हुँदै ७८ रन जोडिन्। बेथ र हिलीले सो प्रतियोगितामा दोस्रोपटक शतकीय साझेदारी गरे। उनीहरूले १ सय १५ रनको साझेदारी गरेका हुन्। भारतका तर्फबाट दिप्ति शर्माले २ विकेट लिइन्।
भारतको यो सातौं टी–२० विश्वकप सहभागिता हो। भारतले अहिलेसम्म उपाधि जित्न सकेको छैन। भारतको यो पहिलो फाइनल पनि हो। जबकि अस्ट्रेलियाले सो प्रतियोगितामा ५ पटक उपाधि जितेको छ। अस्ट्रेलियाले पाँचौं उपाधि जितेको फाइनल खेल हेर्न ७५ हजारभन्दा बढी टिकट बिकेको जनाएको छ। त्यस्तै मेलबर्न क्रिकेट मैदान (एमसीसी)को बाहिर दर्शकहरूको भीड उल्लेखनीय रहेको थियो।