६ महिनाभित्र त्रिभुवन विमानस्थल ‘बुटिक विमानस्थल’


नेपाल समाचारपत्र, काठमाडौं
स्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थल बनाउन भइरहेको बाँकी सबै काम ६ महिनाभित्र सक्न निर्देशन दिनुभएको छ। बुधबार त्रिभुवन विमानस्थलमा सरोकारवालाहरूलाई राखेर उहाँले कामका विविध क्षेत्रको मिति नै तोकेर तोकिएको मितिमा सक्न निर्देशन दिनुभएको हो।

मन्त्रालयका सचिव केदारबाबु अधिकारी, सहसचिव रुद्रसिंह तामाङ, सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितको उपस्थितिमा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसी, आयोजनाका प्रमुख मुरारी भण्डारीलगायतलाई एकै ठाउँमा राखेर मन्त्री भट्टराइले यस्तो निर्देशन दिनुभएको हो।

उहाँले आगामी चैत्र १ गतेभित्र निर्माणाधीन नयाँ प्रस्थान कक्षको काम सक्न निर्देशन दिनुभयो। उहाँका अनुसार, चैत्र २१ गतेभित्र निर्माणाधीन नयाँ आवागमन कक्षको सम्पूर्ण काम सक्नुपर्नेछ भने आगामी वैशाख १३ गतेभित्र पार्किङ वे निर्माण सम्पन्न गर्नुपर्नेछ।
मन्त्री भट्टराईले एसियाली विकास बैंकसँगको सहकार्यमा निर्माण गर्न लागिएको आईसीपीको सबै काम आगामी ३ वर्षभित्र सक्ने गरी काम गर्न निर्देशन दिनुभयो। छलफलमा विमानस्थलभित्र रहेको प्यारालल टयाक्सी वे को निर्माणका लागि आगामी तीन महिनाभित्र, कनभेयर बेल्टको निर्माण कार्य आगामी जेठ महिनाभित्र सक्ने समय तोकिएको छ।

‘कोरोनाबारे अध्ययन गर्न एक्सन टिम’
छलफलका क्रममा पर्यटनमन्त्री भट्टराइले कोरोना भाइरसले पार्न सक्ने प्रभाव र चाल्नुपर्ने कदमबारे अध्ययन गर्न नागरिक उड्डयन प्राधिकरण र पर्यटन बोर्डमा ‘एक्सन टिम’ बनाउन निर्देशनसमेत दिनुभयो। कोरोना भाइरसले पर्यटन उद्योगमा पार्न सक्ने असर र चाल्नुपर्ने कदमबारे सरोकारवाला निकायसँग बुधबार मन्त्रालयमा गरिएको छलफलमा मन्त्री भट्टराइले निर्देशन दिँदै कुनै नीतिगत निर्णय गर्नुपरे मन्त्रालयमा लेखि पठाउन आदेश दिनुभयो।
आवश्यक निर्णयका लागि मन्त्रालयमा सचिवको नेतृत्वमा एउटा टिम बनाइने मन्त्री भट्टराईको उद्घोष छ। मन्त्री भट्टराइले पर्यटन क्षेत्रसँग आबद्ध सबै संघसंस्था तथा विज्ञलाई कोरोना भाइरसले पार्न सक्ने प्रभाव र सरकारका तर्फबाट चाल्नुपर्ने कदमबारे ३ दिनभित्र सुझाव दिन निर्देशन दिनुभयो।