प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा पूजा

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहदा उनको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथमा विशेष पूजापाठ गरिएको छ । पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामनासहित पहिलो प्रहरको पूजापाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामनासहित बिहान भएको विशेष पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकसहितको सहभागिता रहेको थियो ।

प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओलीलाई अहिले १० बजे शल्यक्रिया कक्षमा लगिएको छ ।

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । अस्पतालका प्रा डा प्रेमराज ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेका छन ।

मिर्गौला प्रत्यारोपणअघि उनको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

प्रधानमन्त्रीकी भान्जी समीक्षा सङ्ग्रौला कोइरालाले मिर्गौला दान गरेकी छन् । यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।