पहिलो घर कर्जाको ऋण भुक्तानी अनुपात ६० प्रतिशत


नेपाल समाचारपत्र, काठमाडौं
नेपाल राष्ट्र बैंकले स्वप्रयोजनका लागि निर्माण, खरिद गर्ने पहिलो घरको लागि प्रदान गर्ने कर्जामा ऋण भुक्तानी आम्दानी अनुपात अधिकतम् ६० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ। मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा सो व्यवस्था भएको हो।
स्वप्रयोजनका लागि निर्माण, खरिद गरिने पहिलो घर तथा ५० लाखदेखि २ करोड रुपियाँसम्मको कृषि, पर्यटन एवम् साना तथा मझौला पेशा, व्यवसायका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान, नवीकरण गर्न भएको छ।
नियमानुसार दर्ता भएका घर जग्गा व्यवसाय कम्पनीले सञ्चालन गर्ने सरकारको सम्वन्धित निकायबाट अनुमति प्राप्त आयोजनाका लागि प्रदान गरिने कर्जाको ऋण मूल्य अनुपात महानगरपालिका, उपमहानगरपालिका र काठमाडौं महानगरपालिकासँग जोडिएका नगरपालिका क्षेत्रमा अधिकतम ५० प्रतिशत र सो बाहेकका क्षेत्रमा ६० प्रतिशत कायम हुने म मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ।
प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाह हुने कर्जालाई थप प्रोत्साहित गर्न सुक्ष्म निगरानीसम्बन्धी व्यवस्थामा पुनरावलोकन हुनेछ। त्यस्तै लघुवित्त वित्तीय संस्थाले गर्ने लाभांश (नगद वा बोनस शेयर) वितरण सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरी वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने रकम ग्राहक संरक्षण कोष र २५ प्रतिशतले हुने रकम सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।
नेपाली नागरिक, फर्म तथा सस्ंथाले व्यवसाय सञ्चालन वा विस्तार गर्न यस बैंकको पूर्वस्वीकृति लिई भारतबाट भारु १० करोडसम्म र अन्य मुलुकबाट अमेरिकी डलर १० लाखसम्म कम्तिमा ३ वर्ष अवधिको लागि सहुलियतपूर्ण व्याज वा विना ब्याजमा ऋण, सापटी लिन पाउने व्यवस्था मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ।