लिभरपुलको पहिलो हार

0
Shares

लन्डन, (एजेन्सी)
जारी सिजनको इंग्लिस प्रिमियर लिगमा लिभरपुलले पहिलो हार व्यहोरेको छ।
योसँगै मर्सिसाइड क्लब लिभरपुलको अपराजित यात्रामा समेत पूर्णविराम लागेको छ। शनिबारको खेलमा रेलिगेसन जोनमा संघर्षरत वाट्फोर्डसँग ३–० गोलअन्तरले पराजित भएपछि जारी सिजनको प्रिमियर लिगमा लिभरपुलले २८औं चरणको म्याचमा पहिलोपटक हारको मुख देखेको हो।
लिभरपुलले यसअघि २६ खेलमा जित तथा एक खेलमा बराबरीको नतिजा निकालेको थियो। हारसँगै लिभरपुलले उपाधिका लागि अझै पर्खनुपर्ने भएको छ। लिभरपुल २८ खेलबाट ७९ अंक जोडेर शीर्षस्थानमा रहँदा वाट्फोर्ड २७ अंकसहित १७औं स्थानमा छ।
घरेलु टोलीलाई खेलभर नै दबाबमा राखे पनि लिभरपुलले सबै तीन गोल दोस्रो हाफमा व्यहोरेको थियो। वाट्फोर्डको जितमा इस्माइला सारले दुई तथा ट्रोए डेनीले एक गोल थपेका थिए।
सारले खेलको ५४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनले नै ६०औं मिनेटमा गोल गरेपछि लिभरपुल खेलमा २–० ले पछि परेको थियो। ७२औं मिनेटमा ट्रोए डेनीले गोल गर्दै लिभरपुललाई ३–० ले स्तब्ध पारे।
शनिबारै भएको अर्को खेलमा चेल्सी घरेलु टोली बर्नमाउथसँग २–२ गोलको बराबरीमा रोकियो। खेलको अन्त्यतिर मार्काेस अलन्सोले गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको हो।
शुरुआती अग्रता लिएर पनि खेलमा पछि परेको चेल्सीले खेल सकिन ५ मिनेट बाँकी रहँदा गोल गर्दै हार टारेको थियो। बर्नमाउथका जेफर्सन लेर्मा र जोसुआ किङले गोल गरे। चेल्सीका लागि दुवै गोल मार्काेस अलन्सोले गरे। खेलको ३३औं मिनेमा अलन्सोले गोल गर्दै चेल्सीलाई शुरुआती अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता लिएको चेल्सीले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल व्यहोरेपछि खेलमा २–१ ले पछि परेको थियो।
खेलको ५४औं मिनेटमा लेर्माले गोल गर्दै घरेलु टोलीलाई १–१ गोलको बराबरीमा ल्याए। ५७औं मिनेटमा जोसुआ किङले गोल गर्दै बर्नमाउथलाई २–१ को अग्रता दिलाए। खेल सकिन ५ मिनेट बाँकी रहँदा अलन्सोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए। बराबरीसँगै चेल्सीको २८ खेलबाट ४५ अंक भएको छ। बर्नमाउथ २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ।
त्यस्तै, अन्य खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई १–० ले हराउँदा वेस्टह्यामले पनि साउथह्यामप्टनलाई ३–१ ले पराजित ग¥यो। त्यस्तै, न्यु क्यासल र बर्नलीले गोलरहित खेल्दै समान अंक बाँडेका छन्।