थाइल्यान्डमा नेपाल फेरि पराजित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
इल्यान्डमा जारी एसीसी इस्ट रिजन टी २० क्रिकेट प्रतियोगितामा नेपाल फेरि पराजित भएको छ।
आइतबार बैंककको मैदानमा भएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी हङकङसँग हार व्यहोरेको हो। १ सय ५५ रनको लक्ष्य पाएको नेपाललाई हङकङले ४३ रनको अन्तरले हरायो। नेपाल १८ दशमलव १ ओभरमा १ सय ११ रनमा समेटिएको थियो। पहिलो खेलमा नेपाल मलेसियासँग अप्रत्यासित रूपमा पराजित भएको थियो।
नेपालको ब्याटिङ नै खराब भएको थियो। कप्तान ज्ञानेन्द्र मल्लबाहेक बाँकी ब्याटसम्यानले कमजोर ब्याटिङ प्रस्तुत गरेका थिए। मल्लले सर्वाधिक ४६ रन योगदान दिँदा दोस्रो सर्वाधिक व्यक्तिगत रन बनाउनेमा कुशल मल्ल बने। ओपनरमा आएका उनले १९ रन जोडेका थिए।
यसपछि अविनाश बोहराले १२ रन र आरिफ शेखले १० रनको योगदान दिए। अन्यमा पारस खड्का, विनोद भण्डारी र दिपेन्द्रसिंह ऐरीले दोहोरो अंकको रन जोड्न सकेनन्। तीनैजना नचल्नु पनि नेपालले हारको सामना गर्नुपरेको थियो।
नेपालको ब्याटिङ धरासयी गराउन हङकङका बलरको घातक बलिङ कारक बनेको थियो। हारुन अर्सदले ५ विकेट लिए भने आफ्ताब हुसेनले ३ विकेट हात पारेका थिए। यस्तै, एहसान खानले २ विकेट प्राप्त गरेका थिए।
यसअघि नेपालको बलिङ पनि त्यति सशक्त बन्न सकेन। हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रनको योगफल बनाएको थियो। टोलीका लागि निजाकत खानले सर्वाधिक ४८ रन जोडे भने कप्तान ऐजाज खानले २९ रन, हारुनले २७ रन र सहिद वासिफले २६ रनको योगदान दिएका थिए।
नेपाली बलरमा सुसन भारी र सन्दीप लामिछानेले २÷२ विकेट लिएका थिए। एक विकेट कुशल मल्लले लिए।
नेपालले दुई हार व्यहोरेसँगै आगामी एसिया कपमा छनोट हुने सम्भावना झिनो भएको छ। नेपालले दुई खेल खेल्न बाँकी छ। पाँच टोली सहभागी भएको प्रतियोगितामा नेपालले आयोजक थाइल्यान्ड र सिंगापुरसँग खेल्न बाँकी रहेको छ। सिंगापुरले एक जित हात पारिसक्यो भने थाइल्यान्ड र नेपालले २ खेल खेलेकोमा अंक जोड्न सकेका छैनन्।