घटेको शेयर बजारमा उच्च कारोबारको रेकर्ड


नेपाल समाचारपत्र, काठमाडौं ।
निरन्तर वृद्धि हुँदै आएको शेयर बजारमा आइतबार ‘ब्रेक’ लागेको छ। लगानीकर्ताले नाफा सुरक्षित गर्न खोज्दा बजारमा गिरावट आएको सरोकारवालको भनाइ छ।
साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट भए पनि कारोबार रकमका आधारमा भने नयाँ रेकर्ड कायम भएको छ। परिसूचकमा ४० दशमलव ८२ अंकले घटेर १५९१ द्यशमलव ३६ बिन्दुमा झरेको भए पनि यस दिन कारोबार भने ४ अर्ब ८४ करोड रुपियाँभन्दा बढीको भएको छ। यसअघि ४ अर्ब ४६ करोड रुपियाँको रेकर्ड आइतबार तोडिएको हो।
कुल १८३ कम्पनीको १ करोड २५ लाख १७ हजार २ सय १७ कित्ता शेयर कारोबार भएको दिन वित्त समूहबाहेक बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। यस दिन सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ४७४ दशमलव ६१ अंकले घटेको छ। कारोबार रकमका आधारमा एनएमबि बैंक अगाडि रहेको छ। यस बैंकको २६ करोड ६३ लाख रुपियाँबराबरको शेयर कारोबार भएको छ।
त्यस्तै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको २५ करोड ८५ लाख, नेपाल लाइफको २४ करोड ६४ लाख र एनआईसी एसियाको २१ करोड ८८ लाख, नेपाल बैंकको १७ करोड १९ लाख, नबिल बैंक १५ करोड ७४ लाख, प्रभु बैंक १५ करोड ३२ लाख, हिमालयन डिस्टिलरीको ११ करोड ३६ लाख र एभरेष्ट बैंकको १० करोड ७२ लाख रुपियाँको शेयर किनबेच भएको छ।
समग्र परिसूचकमा ४० अंकको गिरावट भएको दिन मितेरी डेभलपमेन्ट र मञ्जुश्री फाइनान्सको मूल्य भने बढेर सर्किट लागेको छ। त्यस्तै सबैभन्दा धेरै बोटलर्स नेपाल तराईका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् भने स्वाभिमान लघुवित्त कम्पनी लगानीकर्ताले पनि ९ प्रतिशतले गुमाएका छन्।