प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी

0
Shares

काठमाडौं, (नेस)

सबै कुरा मिलेमा बुधबारसम्ममा मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको आइतबार ग्र्रान्डी अस्पतालमा कोलोनोस्कोपी गरिसकिएको छ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी दिनुभएको थियो। उहाँले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको जानकारी गराउनुभयो।

बैठकमा प्रधानमन्त्री ओलीले आगामी बुधबार मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिनुभएको पार्टी कार्यालय स्रोतले जनाएको छ। उत्ता चिकित्सक टोली भने दिनभरि बैठकमा व्यस्त रहेका थिए।

चिकित्सक टोलीले नेपालको सेवा सुविधा र जनशक्ति मात्र रहेर मिर्गौला प्रत्यारोपण गर्ने या थप उपकरण सहित विदेशी विशेषज्ञ राख्ने भन्ने बारेमा निकै छलफल गरेको बुझिएको छ।

प्रधानमन्त्री ओलीको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको र यो दोस्रोपटक गर्न लागिएको हो। ओली उमेरका साथै अन्य रोगको समेत सिकार भइसक्नुभएकाले चिकित्सक टोलीले हतारमा निर्णय लिन नसकेको विशेषज्ञहरूको ठम्याइ छ। दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी सफल दर पनि उत्तिकै रहेको चिकित्सकहरू बताउँछन्।

आइतबार साँझ यिनै विषयलाई लिई चिकित्सक टोली प्रधानमन्त्री ओलीसँग चिकित्सकहरूको बैठक बसेको र सम्भावित चुनौतीलाई पनि औल्याउँदै यसै साता मिर्गौला प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेको तर स्वदेशी डाक्टर मात्र हुने या विदेशी विशेष झिकाउने भन्ने बारेमा भने अझै स्पष्ट भई नसकेको स्रोतले जनाएको छ।