आइतबारदेखि प्रि–मनसुन शुरू

0
Shares

काठमाडौं, (नेस)

तीन महिनासम्म चल्ने प्रि–मनसुन हिजो आइतबारदेखि शुरू भएको छ। आइतबारदेखि प्रि–मनसुन शुरू भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुन शुरू हुनुअघि सामान्यतया मार्च महिनाको पहिलो दिनदेखि प्रि–मनसुन शुरू भएको ठानिने महाशाखाकी मौसमविद् मञ्जु बासीले बताउनुभयो। प्रि–मनसुनभरि बाह्य वायुमण्डलको भन्दा पनि विशेष गरी स्थानीय वायुको सक्रियता रहने उहाँको दाबी छ।

यस अवधिमा बिहानदेखि मध्याह्नसम्म मौसम सफा रहे पनि अपराह्न तथा साँझपख मौसममा बदली हुने उहाँले बताउनुभयो। ‘यस बेला बिहानदेखि अपराह्नसम्म मौसम सफा देखिन्छ। तर, साँझ भएपछि मौसम बिग्रिँदै जान्छ। यो तीन महिनासम्म निरन्तर चलिरहन्छ’ –उहाँले भन्नुभयो। तीन महिनासम्म मध्यान्हदेखि साँझसम्म हावाहुरीसहित मेघ गर्जन भई असिनापानी पर्ने उहाँले बताउनुभयो।

गर्मी बढेसँगै जमिन तात्ने कारण वायुमण्डलमा जलवाष्पसहितको विकसित बादलले गर्दा पानी परे पनि १ देखि २ घन्टासम्म पानी पर्ने उहाँको दाबी छ। यसको असर विशेषगरी पहाडी भू–भागमा पर्ने मौसमविद्को भनाइ छ। हावाहुरी र चट्याङ परिरहने भएकाले सतर्क रहन मौसमविद्को आग्रह छ।