अमेरिका र तालिवानबीच ऐतिहासिक सम्झौता

0
Shares

दोहा, (एजेन्सी)
सन् २००१ को ११ सेप्टेम्बरमा ओसामा बिन लादेनको निर्देशनमा अलकायदाका लडाकूहरूले अमेरिकाको न्युयोर्क सिटी स्थित वल्र्ड ट्रेड सेन्टरका ट्वीन टावर, पेन्टागन र पेनसिल्भानियाको सान्क्सभिल्ले नजिकको चउरमा आक्रमण गरिएपछि अमेरिकाले ७ हजार माइल टाढाको अफगानिस्तानमा आक्रमण गरेको थियो।
तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको विश्वव्यापी आतंकवादविरुद्धको अभियानअन्तर्गत अफगानिस्तानमा भएको सो हमलापछि त्यहाँको तालिवान सरकारलाई अपदस्थ गरिएको थियो। शनिबार कतारको एउटा पाँचतारे होटलमा संयुक्त राज्य अमेरिका र तालिवानबीच एक शान्ति सम्झौतापत्रमा हस्ताक्षर हुनासाथ अफगानिस्तान र अमेरिकाबीचको अठार वर्ष लामो युद्ध विधिवत रूपमा अन्त्य भएको छ।
अब मध्यएसियाको गरिब तथा युद्धग्रस्त मुलुक अफगानिस्तानबाट अमेरिकी फौज फिर्ता हुने क्रम शुरू हुनेछ। उक्त ऐतिहासिक सम्झौतामा अमेरिकी विशेष दूत जोल्मे खलिलजाद र तालिवानका प्रमुख वार्ताकार अर्थात् तालिवान लडाकू समूहका संस्थापकमध्ये एक मुल्लाह अब्दुल घानी बारादारले हस्ताक्षर गरेका छन्। एक वर्षभन्दा लामो समयसम्म पटक–पटक भएको औपचारिक वार्तापछि दोहामा यो हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोको पनि उपस्थिति रहे पनि उनले भने हस्ताक्षर गरेनन्। ११ सेप्टेम्बरमा अमेरिकामा गरिएको आतंककारी आक्रमणमा ३ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। हाल अफगानिस्तानमा करिब १३ हजार जति अमेरिकी फौज तैनाथ छन्।