कोरोना भाइरसविरुद्ध हरसम्भव कदम चाल्नू: किम

0
Shares

सोल, (एजेन्सी)
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले कोरोना भाइरस अर्थात् कोभिड –१९ विरुद्ध गम्भीर सतर्कता अपनाइरहेको अवस्थामा शुक्रबार सैनिक अभ्यास अवलोकन गरेको सरकारी सञ्चारमाध्यम केसिएनएले जनाएको छ। अन्तर्राष्ट्रिय जगत्बाट एक्लिएको कम्युनिस्ट मुमुल उत्तर कोरियामा हालसम्म कुनै पनि कोरोना भाइरससम्बन्धी घटना देखिएको पुष्टि भइसकेको छैन।
कोरोनाको जोखिमबाट बच्नका लागि नै शंकास्पद व्यक्तिलाई एक महिने क्वारेन्टाइनमा राख्ने र सीमा क्षेत्र, विमानस्थल तथा बन्दरगाहहरूमा कडा परीक्षण र निगरानी राख्ने गरिएको छ।
आफ्नो पिता किम जोङ इलको वार्षिकीको क्रममा उनको समाधि स्थलमा जाँदा गत १६ फेब्रुअरीमा २२ दिनपछि पहलोचोटि किम सार्वजनिक भएका थिए। केसिएनएले सैनिक अभ्यास र सेनाको कुशल क्षमता प्रदर्शनबाट किम सन्तुष्ट रहेको पनि जनाएको छ।
उनले सरकारी अधिकारीहरूलाई देशमा कोरोना भाइरस छिर्न नदिने हरसम्भव उपाय अपनाउन निर्देशन दिएको पनि केसिएनएले जनाएको छ। किमले यदि कोराना भाइरसको महामारी शुरू भयो भने त्यसको परिणाम निकै भयावह हुने चिन्ता व्यक्त गरेका छन्।
यसैबीच शुक्रबारसम्ममा दक्षिण कोरियामा ५ सय ९४ नयाँ कोरोना भाइरस संक्रमित भेटिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ। तर, यो संख्या सोही दिन नै चीनमा भेटिएका नयाँ संक्रमितभन्दा बढी भएको बताइएको छ।
कोरोना भाइरसको उद्गमस्थल तथा सबैभन्दा प्रभावित देश चीनमा पछिल्लो समय नयाँ संक्रमितको संख्या बिस्तारै घट्न थालेको छ। चीनको हुवेई प्रान्तको उहान शहरबाट यो भाइरसको संक्रमण शुरू भएको हो। शुक्रबार चीनमा ४ सय २८ नयाँ संक्रमितको पहिचान भएको थियो भने ४७ व्यक्तिको ज्यान गएको थियो। हालसम्म चीनमा कोरोना भाइरसका कारण मर्नेको संख्या २ हजार ८ सय ३५ पुगिसकेको छ। त्यस्तै, हालसम्म कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ७९ हजार २ सय ५२ रहेको छ।