शेयर बजारमा करिब २ सय अंकको छलाङ



नेपाल समाचारपत्र, काठमाडौं ।
चीनलगायतका मुलुकमा कोरोना भाइरसको प्रकोपका कारण नेपालको पर्यटन व्यवसाय, वैदेशिक व्यापार तथा पूर्वाधार विकासमा प्रतिकूल प्रभाव पार्नुका साथै मुलुकको राजनीतिक घटनाक्रमसमेत अस्थिर देखिएका बेला देशको पुँजी बजारमा भने पछिल्ला दिन उछाल नै आएको छ ।
सरकारप्रति लगानीकर्ता विश्वस्त हुन नसक्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा निरन्तर गिरावट हुँदै आएको थियो । तर, केही दिनयता बजार सुधारोन्मुख रहे पनि यो भने पुँजी बजारमा नयाँ रेकर्डहरू कायम भए । पुँजी बजारमा भएको वृद्धिसँगै लगानीकर्तामा अहिले आशाको सञ्चार भएको छ ।
लगानीका लागि अन्य सम्भावना न्यून भएको र शेयर कर्जा प्रवाहमा सहजता आउनुका साथै पुँजी बजारप्रति प्रतिकूल व्यत्तिलको बिल्ला लगाइएका अर्थमन्त्री डा. युवराज खतिवडाको पदावधि नथपिने चर्चाबाहेक अर्थतन्त्रमा कुनै उल्लेख प्रभाव नदेखिए पनि नेप्से परिसूचकमा भने उच्च अंकको वृद्धि भएको छ ।
साताको चार कारोबार दिन नेप्से उच्च अंकले बढ्यो भने एक दिनमात्रै झिनो अंकले घट्यो । साताभर नेप्से परिसूचक १९७ दशमलव ६० अंकले बढ्यो ।    त्यस्तै कुल १८० कम्पनीको ४ करोड ४९ लाख ४४ हजार ११३ कित्ता शेयर १८ अर्ब ६२ करोड ६६ लाख २२ हजार ४०७ रुपियाँमा कारोबार भएको छ ।
साताको पहिलो दिन आइतबार नेप्सेमा करिब ७० अंकले बढ्दै बजारमा बहार ल्याएको थियो । ६९ दशमलव ५६ ले वृद्धि भएर १५०४ दशमलव १४ बिन्दुमा पुगेको नेप्सेमा कारोबार शुरु भएको दोस्रो घण्टामा नै सर्किट ब्रेक लगाउनुपरेको थियो ।
सो दिन कुल १७८ कम्पनीका ८७ लाख ६९ हजार ५२२ कित्ता शेयर ३ अर्ब ६० करोड ८५ लाख २६ हजार ३५४  रुपियाँमा किनबेच भएको थियो ।साताको दोस्रो दिन भने झिनो अंकले घटेको थियो ।  यस दिन नेप्से १ दशमलव ९६ अंकले घटेर १५०२ दशमलव १८ बिन्दुमा समेटिएको थियाे ।
समग्र परिसूचकमा गिरावट देखिए पनि सेन्सेटिभ परिसूचक भने शून्य दशमलव ४९ ले बढेर ३१८ बिन्दुमा पुगेको छ । यस दिन परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यद्यपि, तीन अर्ब रुपियाँमाथिको कारोबार औसत दिनमा भन्दा उच्च हो ।
अघिलो दिन उच्च अंकको वृद्धि भएपछि लगानीकर्ता हौसिदा कारोबारको अन्त्यमा परिसूचक नकारात्मक देखिएको सरोकारवालाको भनाइ छ । सोमबार कारोबार शुरू हुने बित्तिकै परिसूचक उकालो लागेको थियो । एक घण्टाभित्रै ३० अंकभन्दा बढीले उक्लिएको परिसूचक अन्त्यमा ऋणात्मक हुन पुग्यो ।
सोमबार कुल १७९ कम्पनीको ८३ लाख ४८ हजार २३४ कित्ता शेयर ३ अर्ब ४१ करोड ५ लाख  रुपियाँबराबरमा कारोबार भएको थियो । यस दिन कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूह (बैंकिङ समूह ४ दशमलव ७६ अंक, उत्पादन समूह २३ दशमलव ३९ अंक र अन्य उपसमूह ९ दशमलव शून्य ४ अंकले) बढ्दा बाँकी सबै समूहमा गिरावट भएको छ ।
मंगलबार नेप्से परिसूचक ४३ दशमलव शून्य २ अंकले वृद्धि भएको थियो । कुल १ सय ८० कम्पनीको ७० लाख ५९ हजार ७ सय १२ कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५ सय २४ रुपियाँ बराबरको खरिदबिक्री भएको थियो । कारोबार भएका १२ उपसमूहमध्ये मंगलबार सबै उपसमूहको परिसूचक वृद्धि भएको थियो ।
नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम बुधबार पनि जारी रह्यो । सो दिन नेप्से परिसूचक ५० दशमलव ९३ अंक बढ्यो । कुल १८० कम्पनीका ९९ लाख छ हजार ९८९ किता शेयर ४ अर्ब १५ करोड ४८ लाख ८३ हजार रुपियाँमा कारोबार भएको थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से परिसूचकमा उछाल कायमै देखियो। बुधबार ५१ अंकले बढेको नेप्से परिसूचक बिहीबार ३६ अंकले बढेको छ । नेप्से परिसूचक ३६ दशमलव शून्य ५ अंकले बढेर १६३२ दशमलव १७ बिन्दुमा पुगेको छ ।
यस दिन शेयर कारोबार रकममा पुनः नयाँ रेकर्ड कायम भएको छ । ४ अर्ब १५ करोड रुपियाँको कारोबार भएर बुधबार कायम भएको रेकर्ड बिहीबार ४ अर्ब ४६ करोडको कारोबार भई नयाँ रेकर्ड कायम भएको हो । कारोबार रकममा मात्र नभई कारोबार संख्या र कारोबार भएको शेयर संख्यामा समेत नेप्सेले रेकर्ड तोडेको छ ।

प्रतिक्रिया दिनुहोस्