स्वयंसेवक शिक्षकका लागि आवेदन खुला

0
Shares

काठमाडौं, (नेस)

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षकका लागि आवेदन खोलेको छ। शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका एक वर्षे अवधिका लागि आवेदन खोलेको हो।

अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउनेछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) नचाहिने गरी व्यवस्था गरेको छ। विद्यालयमा पढाउने शिक्षकले स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने व्यवस्था गरेको छ।

विद्यालयमा अंग्रेजी, गणित र विज्ञान विषय शिक्षकको संख्या अत्यन्तै न्यून भएपछि मन्त्रालयले आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वयंसेवक शिक्षक पठाउने व्यवस्था गरेको हो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले १ हजार ५ सय स्वंयसेवक शिक्षक राख्ने तयारी थालेको हो।

सरकारले स्वयंसेवक शिक्षक नियुक्ति गर्न कार्यविधि पारित गरेसँगै शिक्षक राख्ने व्यवस्था शुरू गरेको हो। विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो। देशका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ६८ तहमा शिक्षक अभाव छ। ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो।

स्वयंसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत २९ माघमा मन्त्रिस्तरीय निर्णय गरेको थियो। सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार रहने व्यवस्था गरेको छ। भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार रुपियाँ निर्धारण गरिएको छ। यस्तै, स्नातकोत्तर तह उत्तीर्णको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार रुपियाँ निर्धारण गरिएको छ।