चेपुवामा परेपछि निर्णय मान्न प्रम तयार

0
Shares

काठमाडौं, (नेस)

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन तयार हुनुभएको छ।
यसअघि उहाँले सचिवालयको निर्णय नमान्ने अडान लिएपछि पार्टीको विवाद निकै उत्कर्षमा पुगेको थियो।

सचिवालय बैठकले सर्वसम्मतरूपमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरे पनि प्रधानमन्त्री ओली अर्थमन्त्री डा. युवराज खतिवडालाई नै पुनः सदस्य बनाउन तयार हुनुहुन्थ्यो।

विवाद समाधान गर्न वरिष्ठ नेता माधवकुमार नेपालले अर्थमन्त्रीमा खतिवडालाई नै निरन्तरता दिन र उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिनुभएको थियो।

सचिवालयको निर्णयको पक्षमा सचिवालयमा रहेका अधिकांश नेता उभिएपछि प्रधानमन्त्री दबाबमा पर्नुभएको थियो।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा सचिवालयको निर्णय कार्यान्वयन गर्नुपर्ने अडानमा हुनुहुन्छ। ओलीलाई सचिवालय सदस्य ईश्वर पोखरेलको मात्र साथ रहेको छ।

उक्त विवाद बढ्दै गएपछि वरिष्ठ नेता र प्रधानमन्त्री ओलीबीच पटक–पटक भेट भएको छ। उक्त भेटपछि प्रधानमन्त्री ओली फागुन २० गतेभित्र नै सचिवालयको निर्णय कार्यान्वयन गर्ने गरी प्रक्रिया अगाडि बढाउन सहमत भएको सचिवालयका एक नेताले बताए।

वरिष्ठ नेता नेपालको भनाइ उद्धृत गर्दै ती सचिवालय सदस्यले भने– ‘पार्टीभित्र विवाद बढाउने काम नगरौं, बहुमत सचिवालय सदस्यले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढ्दा नै पार्टीको हित हुन्छ।’

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो– ‘सचिवालयमा सर्वसम्मत भएको निर्णय मान्दिनँ भन्न पाइँदैन, कि त्यति नै बेला हुन्न भन्न सक्नुपर्दथ्यो।’